भारतको खिरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द हुने भएका छन् ।
छिमेकी राष्ट्र भारतस्थित उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही बैशाख ३१ गते अर्थात् मे १३ तारिखका दिन हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरी आज शुक्रबार साँझ ६ बजेदेखि उक्त मतदान कार्य समाप्त नहुँदासम्म कञ्चनपुर र कैलालीका दक्षिणी सीमा क्षेत्र बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।
उक्त निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएको हुँदा उक्त अवधिभर नेपाल–भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख छ ।