अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ अत्तरियामा रहेको दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम लागु गरेको छ ।
विद्यालयमा अध्ययनरत बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित गर्न विद्यालयमा ‘पुस्तकरहित शुक्रबार’को निति अपनाईएको विद्यालयका प्रधानाध्यापक शिवराज जोशीले बताएका छन् । सो कार्यक्रम अन्तरगत हरेक हप्ताको शुक्रबार अध्ययन अध्यापनबाहेक सिपमुलक कार्यक्रम अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान सम्बन्धी कार्यक्रमको आयोजना गरिने जोशीले बताएका छन् ।
जस अन्तरगत घर शौचालय,सार्वजनिक स्थल आदी सरसफाई गर्ने दुना टपरी बनाउने,खेलौना निर्माण गर्ने,वाइरिगं गर्ने लगायतका कामहरु समावेश गरिने उनको भनाई छ । कक्षा १ देखी १० सम्मका बालबालिकालाई रुचि र क्षमता अनुसार कार्यक्रममा सहभागि गराईनेछ । यो कार्यक्रमले बालबालिकालाई जीवनउपयोगी कुराहरु सिक्न सहयोग पुग्ने जोशीको भनाई छ ।
“बालबालिकाहरुले विद्यालयको परिक्षामा ए प्लस ल्याएको छ,तर आफु सुतेको बिस्तरा सफा गर्दैन,मिलाउँदैन,आफ्नो शौचालय सफा गर्दैन,घरका सामान्य कामहरु समेत गर्न आउँदैन भने त्यो ए प्लसले के गर्ने?उनले भने, हामीले विद्यार्थीहरुलाई यस्तै जीवनउपयोगी कामहरु गर्न प्रेरित गर्ने उदेश्यले यो कार्यक्रम लागु गरेका छौँ ।”
“हामीले सिकाउन सक्ने कामहरु हामी सिकाउँछौ र नसकिने कामहरुका लागि अतिथीहरु बोलाएर सिकाउन लगाँउछौ,जोशीले भने ।” विद्यालयमा शिक्षण सिकाई क्रियाकलाप अधिक गर्ने प्रयास गरिरहेको जोशीले बताएका छन् । विद्यालयमा विद्यार्थी संख्या अधिक र जनशत्ति सो बमोजिम अभाव हुँदा केहि असहता भने सिर्जना हुने आँकलन गरिएको जोशीको भनाई छ । विद्यालयमा हाल कक्षा १० सम्म एक हजार आठ सय जना बालबालिका अध्ययनरत रहेका छन् ।
‘पुस्तकरहित शुक्रबार’ अन्तरगत विद्यालयमा शुक्रबार आयोजना गरिने विभिन्न अतिरिक्त कार्यक्रमले विद्यार्थीको वास्तवीक जीवनमा परिवर्तन ल्याउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश शाहले बताएका छन् । कक्षा शिक्षकको कार्ययोजना अनुसार ‘पुस्तकरहित शुक्रबार’ लागू गरिने शाहले बताए । उत्त कार्यक्रम अन्तरगत गत हप्ता प्रकृतिसंग विद्यार्थी कार्यक्रमको आयोजना गरिसकेको समेत शाहले बताएका छन् । ‘पुस्तकरहित शुक्रबार’ कार्यक्रमले विद्यार्थीमा सिर्जनशिलताको विकास गर्नुका साथै केहि गर्ने मानसिकता जागृत हुने शाहको भनाई छ ।
विद्यार्थीलाई शैक्षिक ज्ञानमात्र नभई सीपमूलक ज्ञानको पनि आवश्यकता रहेकाले विद्यालयमा व्यवहारिक शिक्षा दिन थालिएको शाहले बताए । मौलिकता हराउँदै गईरहेको अवस्थामा समेत हरेक शुक्रबार आयोजना हुने फरक फरक कार्यक्रम सांस्कृतिक हिसाबले पनि फाइदाजनक हुने शाहले बताएका छन् ।
अहिलेको युगमा बालबालिकालाई शैक्षिक ज्ञानमा मात्रै ध्यान दिनुभन्दा पनि विद्यार्थीको रुचि र उनीहरुको क्षमता अनुसार दैनिक रुपमा प्रयोगमा आउने सामग्रीलाई राम्रोसँग पहिचान गराई बनाउन पनि सिकाउने उनले बताएका छन् । विद्यालयमा विद्यार्थीलाई शैक्षिक ज्ञानसँगै अन्य विविध क्रियाकलापमा समावेश गराउँदा विद्यार्थी स्वयंम्ले आफूभित्र भएका प्रतिभालाई उजागर गर्ने अवसर पाउने विश्वास गरिएको छ । विद्यालय आफैले विमोचन गरेकोे भित्तेपात्रोमा पनि उत्त कार्यक्रमलाई समेटिएको छ ।