अत्तरिया – कैलाली लगायत तराईका जिल्लामा अत्याधिक गर्मी बढेको छ । मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म तराईका भूभागमा अत्याधिक गर्मीको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
कैलालीको धनगढी–अत्तरियाको तापक्रम आज ४१.३ डिग्री सेल्सियस मापन गरिएको महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाले जनाएको छ । यो यस वर्षकै उच्च तापक्रम हो ।

कार्यालका अनुसार धनगढी–अत्तरियाको तापक्रम हिजो ४०.८ डिग्री सेल्सियस मापन गरिएको थियो । कार्यालयसंग तीन वर्ष अघि ४२ डिग्री सेल्सियस तापक्रम मापन गरिएको तथ्यांक रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाले मंगलबारसम्म तातो हावा तथा तातो लहर चल्ने बताँउदै बच्नका लागि बढी गर्मीको समयमा घरभित्र वा चिसो स्थानमा बस्ने, बाहिरी वातावरणमा बढी नजाने, घाममा बढी नहिँड्ने, हलुका र सुतीका कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, पानीका साथै झोल पदार्थ प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही सल्लाह सुझाव लिनसमेत अनुरोध गरेको छ ।