नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा तापक्रम अहिलेसम्मको उच्च अर्थात् ४९.९ डिग्री सेल्सियस (१२१.८ फरेनहाइट) पुगेको छ । तापक्रम वृद्धिसँगै पानीको अभाव हुन सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।
भारतीय मौसम विज्ञान विभाग (आईएमडी) ले मंगलबार नरेला र मुङ्गेसपुरस्थित दिल्लीका दुई उपनगरीय क्षेत्रमा उच्च तापक्रम मापन गरेको हो ।
मौसम विभागका अनुसार यहाँको तापक्रम अपेक्षाभन्दा नौ डिग्री बढी रहेको छ ।
तीन करोडभन्दा बढी जनसंख्या रहेको यस सहरमा बुधबार पनि यस्तै तापक्रम हुने पूर्वानुमान गरिएको छ र मानिसलाई सतर्क रहन सूचना जारी गरिएको छ ।
सन् २०२२ को मे महिनामा दिल्लीको केही भागको तापक्रम ४९.२ डिग्री सेल्सियस (१२०.५ फरेनहाइट) पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा गर्मीयाममा तापक्रम उच्च रहने भए पनि पछिल्ला बर्षहरूमा लामो र अत्यधिक गर्मी हुने गरेको छ ।
वर्षौंको वैज्ञानिक अनुसन्धानले जलवायु परिवर्तनका कारण गर्मी लामो हुने, बारम्बार हुने र तीव्र हुने गरेको जनाएको छ ।