कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया रिहा

Image

धनुषा – ९ दिनअघि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया रिहा भएका छन् ।

अनुसन्धानका क्रममा नागरिकतामा बिगो, कैद र जरिवाना हुने कुनै पनि कसुर पुष्टि हुने आधार नदेखिएको र नागरिकता जारी गर्ने क्रममा भएका त्रुटिलाई प्रशासनबाटै सम्बोधन गर्नुपर्ने भन्दै सरकारी वकिलको कार्यालयले स्वीकृति दिएपछि प्रहरीले सिरोहियालाई हाजिर जमानतमा रिहा गरेको हो ।

जिल्ला सरकारी वकिलको कार्यालय धनुषाको स्वीकृतिमा जिल्ला प्रहरी कार्यालय धनुषाले पठाएको पत्रका आधारमा ललितपुर प्रहरीले सिरोहियालाई बुधबार साँझ हिरासतमुक्त गरेको हो ।

काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको प्रधान कार्यालयबाट पक्राउ गरी रातारात धनुषा लगिएका सिरोहियामाथि अनुसन्धान जारी रहेको भन्दै प्रहरीले तीन पटक म्याद थपाएको थियो । तर, नागरिकतामा प्रशासनिक त्रुटि मात्र देखिएपछि उनलाई रिहा गरिएको हो ।