
अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ को पहाडी क्षेत्रलाई छुट्टै वडा बनाउन प्रस्ताव गरिएको छ । मंगलबार सम्पन्न भएको आठौं वडा भेलामा गोदावरी बुथकेन्द्र अन्तरगतका टोलहरुलाई अलग वडा घोषणा गर्न हस्ताक्षरसहित स्थानीयले प्रस्ताव गरेका हुन् । फुलबस्तीका स्थानीय जय बहादुर धामीले भौगोलिक विकटताका कारण वडा नम्बर ४ का पहाडी क्षेत्रका बासिन्दालाई वडा कार्यालय धाउन समेत असहज भएको बताएका छन् ।
गोदावरी बुथकेन्द्र अन्तरगतका टोलहरु पट्रेनी,काफलपानी,फलबस्ती,सिमलगैरा,चुनेपानी,भ्यागुते पानी,डाँडागाँउ,बुढीतोला क्षेत्र अमलचेनी,तल्लो दोगाग,मल्लो दोगाड लगायतका टोलहरुलाई मिलाएर अलग वडा घोषणा हुनुपर्ने उनीहरुको माग छ । अन्य वडाको तुलनामा वडा नम्बर ४ भौगोलिक रूपमा ठूलो र विकट भएको, स्रोत–साधनको असुविधा भएको,न्युन बजेट लगायत कारणले छुट्टै वडा कायम गर्न उनीहरुले माग गरेका हुन् । वडा नम्बर ४ ले गोदावरी नगरपालिकाको पुरा क्षेत्रफलको झण्डै ३७ प्रतिशत भुगोल ओगटेको छ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार वडाको संख्या वा सीमामा हेरफेर गर्न आवश्यक भएमा गाउँसभा वा नगरसभाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाई बहुमतबाट प्रस्ताव पारित गरी प्रदेश सरकारमार्फत नेपाल सरकार समक्ष पठाउनु पर्ने व्यवस्था छ । प्राप्त प्रस्तावलाई नेपाल सरकारले ६ महिनाभित्र प्रस्ताव बमोजिम वडाको संख्या वा सीमाना हेरफेर गर्ने व्यवस्था छ ।
त्यसका लागि एउटा मतदान केन्द्र,नौ सय मतदता लगायतका निश्चित मापदण्ड पुर्याउनु पर्ने व्यवस्था रहेको छ । वडा नम्बर ४ को हकमा ति मापदण्डहरु पुगेको बताईएको छ । उत्त प्रस्तावमाथी वडाका जनप्रतिनिधीले अब केहि दिनमा छलफल गर्ने बताईएको छ ।