
काठमाडौँ – मानव–वन्यजन्तु द्वन्द्व बढ्दै जाँदा जङ्गली जनावरबाट हुने मानवीय क्षति बढ्दै गएको छ । जङ्गली जनावरको सङ्ख्या बढ्दै जाँदा आहार नपाएपछि मानवसँगै भौतिक क्षति हुने गरेको हो ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुङ्गानाले विगत छ वर्षको अवधिमा ६५३ जना घाइते हुनुका साथै २३१ जनाको मृत्यु भएको जानकारी दिए ।

चालु आर्थिक वर्ष २०८०/८१ सालको वैशाखसम्म मात्रै ३१ जनाको ज्यान गइसकेको उनले बताए । जसमा सबैभन्दा बढी मानवीय क्षति गर्नेमा बाघ, हात्ती र गैँडा छन् । मानव–वन्यजन्तु द्वन्द्वका विषयमा गहिरो खोज अनुसन्धान नहुँदा मानवीयसँगै अन्य धेरै क्षति बेहोर्नु परेको हो ।
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन नहुँदा मानव र जनावर दुवैतिर क्षति हुने गरेको छ । वन्यजन्तुले पु¥याएको क्षतिको रकम राज्यले पीडितलाई दिने भएकाले त्यसको रकमसमेत बढ्दै गएको छ ।
गत आर्थिक वर्ष २०७९/८० मा कुल १३ करोड ५४ लाख रुपैँया वन्यजन्तुबाट हुने क्षतिबापत तिर्नु परेको महानिर्देशक ढुङ्गानाले बताए । सरकारले मृत्यु भएका प्रतिव्यक्ति परिवार १० लाख रुपैँया दिँदै आएको छ । अपाङ्गता, घाइते र बालीनाली, पशुधन र घरमा क्षति गरेको अवस्थामा पनि अवस्था हेरी क्षतिपूर्ति दिने गरिएको छ ।