काठमाडौं – यो वर्षको मनसुन प्रणाली सोमबार (आज) नेपाल भित्रिएको छ । कोसी प्रदेशको पूर्वी भूभागमा मनसुन आगमन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
नेपालमा मनसुन भित्रने सरदर मिति जुन १३ हो । यो वर्षको मनसुन सरदर मितिभन्दा तीन दिन छिटो गरी नेपालमा प्रवेश गरेको महाशाखाले जनाएको छ ।
नेपालका अरू भूभागमा केही दिनमा क्रमिक रूपमा मनसुन अगाडि बढ्ने महाशाखाले जनाएको छ ।
हिन्द महासागरबाट विकास भई बंगालको खाडी हुँदै दक्षिण–पूर्वी दिशाबाट मनसुनी वायु प्रणाली नेपाल प्रवेश गर्ने गर्छ । औसत मितिभन्दा अगाडि अथवा पछाडि पनि मनसुन भित्रन सक्छ । विभागका अनुसार, नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो ।
नेपाल भित्रिएको मनसुन अब पश्चिमी भूभागतर्फ सर्दै नेपालभर फैलनेछ । नेपालभर मनसुन फैलिने औसत समय पाँच दिन हो । तर, वायुको वेगमा पनि यो भर पर्ने मौसमविद् बताउँछन् ।
यो वर्षको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने अनुमान छ । सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
कोसी प्रदेशको दक्षिणी, मधेस, वाग्मतीको दक्षिणी र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले उल्लेख गरेको छ ।