अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेमा नयाँ ट्रान्सफर्मर जडान गरिएको छ । स्याउलेमा रहेको जयलक्ष्मी ग्रामिण विद्युत सहकारी संस्थाले गोदावरी नगरपालिकाको सहयोगमा आज एक सय केबि क्षमताको नयाँ ट्रान्सफर्मर जडान गरेको हो ।
यसअघि जयलक्ष्मी ग्रामिण विद्युत सहकारीको कार्यक्षेत्र भित्र पचास केबिका दुइओटा ट्रान्सफर्मर रहेकोमा विद्युत आपूर्ति अभाव हुँदै आएको थियो ।
आफ्नो आयस्रोत न्युन हुँदा वर्षौदेखी थप ट्रान्सफर्मरको लागि संस्थाले विभिन्न निकायसंग माग गर्दै आएको थियो । सोहि क्रममा गत पुषमा आफ्नो १९ औँ साधारणसभामा गोदावरी नगरपालिकाका नगर प्रमुख बिरेन्द्र भट्टसंग पनि ट्रान्सफर्मर अभाव रहेको बताएको थियो । भट्टले साधारणसभामा बोल्ने क्रममा संस्थालाई ट्रान्सफर्मर सहयोग गर्ने घोषणा गरेका थिए ।
यो पनि : जयलक्ष्मी ग्रामिण विद्युत सहकारीलाई ट्रान्सफर्मर सहयोग गर्ने नगर प्रमुख भट्टको घोषणा
ट्रान्सफर्मरकालागि करिब आठ लाख रुपैँया आवश्यक पर्ने बताईएको थियो । जसबाट पचास प्रतिशत संस्थाले र पचास प्रतिशत रकम नगरपालिकाले प्रदान गर्ने बताईएको थियो । सोहि बमोजिम ट्रान्सफर्मर खरिद गरिएको जयलक्ष्मी ग्रामिण विद्युत सहकारीका अध्यक्ष टेक बहादुर देउवाले बताए । ट्रान्सफर्मर अभावका कारण जयलक्ष्मी ग्रामिण विद्युत सहकारीका उपभोत्ताहरु विद्युतको “लो भोल्टेज”को समस्या भोग्दै आएका थिए ।
विद्युतको “लो भोल्टेज”का कारण गर्मीयाममा पंखा नचल्ने,मोटर नचल्ने,विद्युतिय उपकरणहरु नचल्ने समस्याका कारण उपभोत्ता हैरानी खेप्दै आएका थिए । नयाँ ट्रान्सफर्मर संचालनमा आएपछी “लो भोल्टेज”को समस्याबाट मुत्त भई विद्युत आपूर्ति सहज हुनेमा आफु विश्वस्त रहेको देउवाले बताएका छन् । जडान गरिएको नयाँ ट्रान्सफर्मर केहि दिनमै संचालनमा ल्याउने तयारी रहेको देउवाले बताएका छन् ।