काठमाडौं – १०२ औँ अन्तर्राष्ट्रिय सहकारी दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
दिवसका अवसरमा राष्ट्रिय सहकारी महासंघले राष्ट्रिय सहकारी विकास बोर्डको कार्यक्रम हल पुल्चोकमा दिउँसो साढे १२ बजे विशेष कार्यक्रम गर्दैछ। अन्तर्राष्ट्रिय सहकारी महासंघ तथा संयुक्त राष्ट्रसंघको आह्वानमा प्रत्येक वर्ष जुलाई महिनाको पहिलो शनिबारका दिन यो दिवस मनाइने गरेकोमा नेपालमा पनि महासंघको अगुवाइमा मनाइन्छ।
‘सहकारीहरुले सबैका लागि राम्रो भविष्य निर्माण गरिरहेका छन्’ नारासहित अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउन लागिएको हो। दिवसको अवसरमा सहकारी महासंघले सहकारी अभियानमा उत्कृष्ट कार्य गर्ने सहकारी संघसंस्था, तथा व्यक्तिलाई पुरस्कार र उत्कृष्ट सहकारी संघ संस्थाको वृत्तचित्र प्रदर्शन लगायत कार्यक्रम आयोजना गरेको छ ।
हाल नेपालमा ३२ हजार सहकारी संस्था रहेका छन्, जसमध्ये अधिकांश संस्था राम्रो अवस्थामा रहे पनि केही संस्थामा भएको अनियमितता र अपचलनका कारण सहकारी क्षेत्र नै त्रस्त बनेको छ । हालसम्म सरकारले २० वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राखेको छ । यस्तै अरु दर्जनौँ सहकारीहरु बचतकर्ताको रकम अपचलनको आरोपमा मुछिएका छन् । जसले सहकारीको साख कमजोर बनाउँदै गएका छन् ।