अत्तरिया – बिहिबार राती देखीको निरन्तर वर्षाका कारण हिजोआज कैलालीको खुटीया नदीमा पानीको बहाव उच्च छ । खुटियामा पानीको बहाव बढेसँगै ठूलो परिमाणमा काठ तथा दाउरा पनि नदीमा बगिरहेको छ । पहाडका डाँडापाखा हुँदै आउने यो नदीले दाउरा तथा काठ बगाएर ल्याउने गर्छ ।
गोदावरी ८ स्थीत खुटीया नदीको किनारामा बस्दै आएका स्थानीयहरु ज्यान जोखिममा पारेर नदीमा दाउरा संकलन गर्ने गरेका छन् । आइतबार दिउँसो अविरल वर्षा भईरहेको समयमा खुटीया किनाराका बासीन्दाहरु दाउरा संकलनमा व्यस्त थिए ।

नदीमै ट्याक्टरमा ढुंगा,बालुवा लोड गर्ने,गिट्टी कुट्ने दिनचर्या रहेका उनीहरु असार लागे देखी नदीजन्य पर्दाथ निकासी बन्द भएपछी समस्यामा छन् । दाउराकै चुल्होमा खाना पकाउने अधिकांश उनीहरु दाउराको जोहो गर्न ज्यान जोखिममा राखेर खुटीया नदीमा पस्ने गरेका छन् ।
दैनिक ज्याला मजदुरीको काम बन्द हुँदा उनीहरू बाढीमा दाउरा खोज्नकै लागि जाने गरेका छन् । निरन्तरको वर्षाले गोदावरी नगरपालिका क्षेत्रका केहि घर हरुमा पनि क्षति गरेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर १२ को एक घर भत्कीएको तर मानवीय क्षति भने नभएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । यता प्रशासनले निरन्तर वर्षा भईरहेको भन्दै नदी छेउछाउका बासीन्दालाई सचेत रहन आग्रह गर्दै आएको छ ।