अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले चौराहमा गोदावरी नगरपालिकाले हाइमास्ट लाइट जडानको काम सुरु गरेको छ । नगरपालिकाले बिच सडकमा मापदण्ड विपरीत लाइट जडानको काम सुरु गरेको हो ।
एडिबीको सहयोगमा सडकको बिच भागमा लाइट जडानको काम सुरु गरेपछी दुर्घटनाको जोखिम बढेको छ । एडिबीको सहयोगमा नगरका चार ठाँउ लालपुर,मालाखेती,बसपार्क र स्याउलेमा लाइट जडानको काम सुरु गरेको नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताएका छन् ।
नगरले सडकमा लाइट जडान गरिरहेको विषयमा सम्बन्धित निकाय सडक विभाग महेन्द्रनगर भने बेखबर रहेको छ । स्थानीयले पनि सडक फराकिलो पारेर मात्रै लाइट जडान गर्नुपर्ने मत राख्दै आएका छन् ।‘सडक फराकिलो पारेर मात्रै लाइट जडान गरौँ यसरी दुर्घटना बढ्नसक्छ भनेका थियौँ,विकास विरोधी,काम त केहि गर्नै दिन्नन भनेर एक समूहले खेद्न सुरु गरे,अहिले हामी चुपचाप बसेका छौँ’ स्थानीय एक युवाले भने ।
सडकमा लाइट जडानको विषयमा आफुहरुलाई कुनै जानकारी नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताए । पहिले मौखिक रुपमा आएको जानकारी अनुसार आफुहरुले सहमति नदिएको र त्यसपछी कुनै जानकारी नआएको उनले बताए । सार्वजनिक सडक ऐन २०३१ अनुसार सडकको क्षेत्राधिकार भित्र कुनै पनि काम गर्दा सम्बन्धित निकायसंग समन्वय गर्नुपर्ने व्यवस्था छ । तर नगरपालिकाले भने आफुखुसी काम अगाडि बढाएको हो ।
दुर्घटनाको जोखिम हुने हुँदा त्यो सडकमा लाइट जडानको कामलाई तुरुन्तै रोक्नुपर्ने र आफुहरुले त्यहि अनुसार नगरपालिकालाई पत्राचार गर्ने सिग्देलको भनाई छ । चोकमा त्यसरी लाइट जडान गर्नका लागि प्रक्रिया नै छुट्टै हुने उनले बताए ।
नगरले आफ्नो वडाको क्षेत्रमा लाइट जडान गरिहेको विषयमा आफुलाई भने जानकारी नभएको वडा नम्बर ८ का अध्यक्ष गोबिन्द चौधरीले बताएका छन् । नगरपालिकाले सडक विभागसंग समन्वय गरेरै काम अगाडि बढाएको प्रवक्ता भट्टको दावी छ ।