अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले स्याउले चोकमा गरिरहेको लाइट जडानको काम अगाडि नबढाउन सडक डिभिजन कार्यालय महेन्द्रनगरले गोदावरी नगरपालिकालाई पत्राचार गरेको छ ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले बुधबार नगरपालिकालाई पत्राचार गर्दै सम्बन्धीत निकायको सहमति लिएर मापदण्ड बमोजिम मात्रै काम अघि बढाउन आग्रह गरेको हो ।
गोदावरी नगरपालिकाले पूर्वपश्चिम राजमार्ग अन्तरगत स्याउले चौराहमा एडिबीको सहयोगमा हाइमास्ट लाइट जडानको काम अघि बढाएको थियो । तर सम्बन्धीत निकाय सडक विभागसंग भने अनुमति लिएको थिएन ।
चौराहमा लाइट राख्नका लागि छुट्टै पक्रिया हुने भएपनि त्यो पुरा नगरेरै पालिकाले साँघुरो सडकको बिचमा लाइट राख्न खाडल खनेपछी दुर्घटनाको जोखिम बढेको छ ।
सार्वजनिक सडक ऐन २०३१ अनुसार अघि बढ्न आग्रह गर्दैे सडकमा जोखिम सिर्जना गर्ने काम अगाडि नबढाउन नगरपालिकालाई पत्राचार गरिएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले बताए ।
त्यस्तै गोदावरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्टले सडक डिभिजन कार्यालय महेन्द्रनगरको प्राप्त भएको बताए । “डिभिजन कार्यालयले पठाएको पत्र प्राप्त भएको छ,यस विषयमा नगर प्रमुखसंग छलफल गर्न बाँकी छ,” उनले भने ।
गोदावरी नगरपालिकाले एडिबीको सहयोगमा नगरका चार ठाँउ लालपुर,मालाखेती,बसपार्क र स्याउलेमा लाइट जडानको काम गरिरहेको छ ।