सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज

Image

अत्तरिया  – सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन आज दिउँसोका लागि बोलाइएको छ। अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सदन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि प्रदेश प्रमुख नजिर मियाँको निर्देशनमा आज दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो।

संविधानको धारा १८३ (३) बमोजिम एकचौथाइ सदस्यहरूको लिखित अनुरोधका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्न पत्र पठाए बमोजिम बैठक बोलाइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ।

अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले चालु बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरी रहँदा कांग्रेस र एमालेको आग्रहमा प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन आह्वान गरेका हुन्।

यता सरकारको नेतृत्वकर्ता एकीकृत समाजवादी, सरकारमा रहेका माओवादी केन्द्र र नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) का नेताहरू विशेष अधिवेशन आह्वान भइहाले बैठकमा अनुपस्थित रहने तयारी गरेका छन्।

‘एक जना पनि मन्त्री उपस्थित नभए आजका लागि बोलाइएको विशेष अधिवेशन चल्न सक्दैन,’ स्वतन्त्र सांसद ताराप्रसाद जोशीले भने, ‘दलहरूको दाउपेच र इगोका कारण सिंगो प्रदेश बन्धक बनिरहेको छ।’

एमाले, माओवादी, नागरिक उन्मुक्ति (रञ्जिता श्रेष्ठ समूह) र एक स्वतन्त्र सांसदको समर्थनमा एकीकृत समाजवादीका संसदीय दल नेता सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए।

एमाले सांसद सुरेन्द्रबहादुर पालले तत्कालीन अर्थमन्त्रीका रूपमा गत असार १ मा चालु आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजारको बजेट प्रदेशसभामा प्रस्तुत गरेका थिए।

केन्द्रमा गठबन्धन हेरफेर भएपछि एमालेले असार २० मा समर्थन फिर्ता लियो र बजेटमा पनि स्वामित्व नलिएपछि मुख्यमन्त्री सोडारीले बजेट पारित गराउन सकेनन्। साउन १ देखि सुदूरपश्चिममा बजेट रिक्तताको अवस्था छ।