मङ्गलसेन – अछामका महिलाका लागि अभिशाप बन्दै आएको छाउपडी (महिनावारी) तथा छाउगोठ (महिनावारी भएका महिला बस्ने घर) प्रथाको अन्त्य गर्नका यहाँका स्थानीय जनप्रतिनिधि सङ्घीय राजधानी काठमाडौँमा भेला हुने भएका छन् । सरकारले छाउपडी प्रथा अन्त्य गरे पनि अधिकांश गाउँबस्तीमा अझै नहटेकाले त्यसविरुद्ध गाउँदेखि केन्द्रसम्म दबाब दिन जनप्रतिनिधि काठमाडौँमा सक्रिय भएका हुन् ।
जिल्लाको १० वटै स्थानीय तहलाई छाउपडी तथा छाउगोठमुक्त बनाउनका लागि सशक्त र प्रभावकारी अभियान सञ्चालन गर्न सङ्घीय सरकार तथा अन्य सरकारी तथा गैरसरकारी संस्थासँगको सहकार्य आवश्यक भएकाले राजधानी काठमाडौँ पुग्नु परेको जनप्रतिनिधिले जनाएका छन् ।
परम्पराकालदेखि जटिल बन्दै आएको सो प्रथाको अन्त्यका लागि आवश्यक पर्ने गतिविधि सञ्चालन गर्न बजेटको अभाव देखाउँदै जनप्रतिनिधिले सम्बद्ध मन्त्रालय तथा मन्त्री, प्रतिनिधि सभा सदस्यहरूसँग भेटघाट र छलफल गर्ने जनाएका छन् ।
मङ्गलसेन नगरपालिकाका प्रमुख पदमबहादुर बोहराले यो एक किसिमको दबाबमूलक कार्यक्रम भएको बताए । छाउपडी तथा छाउगोठ अन्त्यका लागि जनचेतना जगाउन तथा पीडित महिलाको न्यायका लागि स्थानीय तहसँग बजेट नभएको भनाइ उनको छ । मर्यादित महिनावारीको विषयमा महिला, बालबालिका तथा समाज कल्याणमन्त्रीलगायत मन्त्रालयका पदाधिकारीसँग छलफल गर्ने कार्ययोजना रहेको उनले बताए । छाउपडी कुरीति र महिलाका लागि अभिशाप भएकाले यसको अन्त्यका लागि स्थानीय तहदेखि सरकार र अन्य निकायसँग सहकार्य अपरिहार्य भएको उनले बताए ।
छाउगोठ व्यवस्थापन निर्देशक समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख ललितबहादुर कुँवरको अध्यक्षतामा बसेको एक बैठकले महिनावारी व्यवस्थापनमा आवश्यक बजेटको माग र अन्य निकायसँग समन्वय गर्ने निर्णय गरेको थियो । यस प्रथाविरुद्ध स्थानीय सरकार तथा गैरसरकारी संस्थाले सञ्चालन गरेका गतिविधि प्रभावकारी नभएको अवस्थामा सरकार र अन्य निकायसँग छाउगोठ अन्त्यका लागि बजेट र अन्य सहकार्यका लागि समन्वय गर्ने गरी निर्णय गरिएको समन्वय प्रमुख कुँवरले बताए ।
अछाम–१ बाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री शेरबहादुर कुँवर, अछाम–२ का प्रतिनिधि सभा सदस्य पुष्पबहादुर शाह, मङ्गलसेन नगरपालिकाका प्रमुख बोहरा, पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख अम्बिका चलाउने, कमलबजार नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकाल, ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश साउद, तुर्माखाँद गाउँपालिकाका अध्यक्ष डम्बर बिसी, चौरपाटी गाउँपालिकाका अध्यक्ष भीमबहादुर साउद र बान्नीगढी जयगढ गाउँपालिकाका उपाध्यक्ष विन्दु रावलसहितको जनप्रतिनिधिको टोलीले छाउपडी प्रथालाई पूर्ण रूपमा हटाउन सङ्घीय सरकारको पूर्ण सहयोग आवश्यक रहेको बताएका छन् ।
छाउपडी भएर गोठमा बस्दा बलात्कार, हत्या हिंसा र सर्पको टोकाइबाट मर्नुपर्ने बाध्यता रहेकाले त्यसको अन्त्यका लागि अगुवा नै सव्रिmय हुनुपर्नेमा आवाज उठिरहेका बेला जनप्रतिनिधिले सामूहिक रूपमा आवाज उठाएका हुन् ।
महिनावारीकै कारण महिला तथा किशोरीले अनाहकमा ज्यान गुमाउनुपर्ने बाध्यता त छँदै छ, देवीदेवता रिसाउने, धामीझाँक्रीले आक्रमण गर्ने, गाईभैँसी बाँझो हुने, अन्नपात सुक्ने, बाघ लाग्ने, विपत् आइलाग्ने जस्ता विकृतिविरुद्ध सो अभियान सफल हुने अपेक्षा गरिएको छ ।