डिभिजनको पत्राचारपछी सडक चौडा बनाएर लाइट जडान गर्ने तयारी

Image

अत्तरिया – पूर्वपश्चिम राजमार्ग अन्तरगत कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले चौराहमा सडक चौडा बनाएर लाइट जडान गर्ने तयारी गरिएको छ । यसअघि नगरपालिकाले साँधुरो सडकमा मापदण्ड विपरीत लाइट जडानको काम सुरु गरेको थियो ।

यो पनि :

बिच सडकमा लाइट जडान गर्दै गोदावरी नगरपालिका,दुर्घटनाको जोखिम

त्यसको विभिन्न माध्यमबाट विरोध भएपछी सडक डिभिजन कार्यालय महेन्द्रनगरले मापदण्ड विपरीत सुरु गरिएको काम रोक्न नगरपालिकालाई पत्राचार गरेको थियो । त्यसपछी डिभिजनलाई मौखिक जानकारी गराएर नगरपालिकाले चोक वरीपरी थप भरान गरि सडक चौडा बनाउने काम सुरु गरेको हो ।

“मापदण्ड विपरीत लाइट जडान भईरहेको खबरपछी हामीले पत्राचार गरेका थियौँ, त्यसपछी सुरु भईसकेको काम रोक्नुभन्दा बरु चारैतिर थप ग्राबेलको काम गरेर अगाडि बढाँउछौँ भनेर मौखीक रुपमा जानकारी गराउनु भएको छ”, सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी तारानाथ सिग्देलले भने ।

बिचमा लाइट राख्दा चोकमा गाडी मोड्न अप्ठ्यारो भएको भन्ने जनगुनासोपनि आएकोले वरीपरी ग्राबेलको काम सुरु गरिएको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले बताएका छन् । भरान गरिएको सडक कालोपत्रेका विषयमा भने कुनै छलफल नभएको उनले बताएका छन् ।

यो पनि :

स्याउलेमा लाइट जडानको काम अगाडि नबढाउन सडक डिभिजन कार्यालयले काट्यो पत्र

सडक चौडा पारेसंगै चोकमा रहेको पीपल,समीको रुख काटीएको छ भने प्रतिक्षालय पनि भत्काईएको छ ।

गोदावरी नगरपालिकाले एडिबीको सहयोगमा नगरका चार ठाँउ लालपुर,मालाखेती,बसपार्क र स्याउलेमा हाइमास्ट लाइट जडानको काम सुरु गरेको हो ।