अत्तरिया – सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिने भएका छन् । दिउँसो ३ बजे प्रदेशसभाको बैठक आह्वान गरिएको छ ।
साउन २० गते मुख्यमन्त्री नियुक्त भएका शाह नेतृत्वको सरकारमा एमाले र नागरिक उन्मुक्ति पार्टी साझेदार रहेको छ । ५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्तिका सात सांसद रहेका छन् ।
बहुमतका लागि २७ सांसद आवश्यक पर्ने सुदूरपश्चिममा एमाले र कांग्रेसकै सांसद संख्याले पनि बहुमत पुग्छ । त्यसै नागरिक उन्मुक्तिको मत थपिँदा दुई तिहाइनजिक पुग्छ ।
तर लामो समयदेखि आन्तरिक किचलोमा रहेको नागरिक उन्मुक्तिका सांसदहरुले एकढिक्का भएर मत दिन्छन् या विभाजित हुन्छन् भन्ने यकिन भइसकेको छैन ।