अत्तरिया – कैलालीको अत्तरिया–मोहनापुल ६ लेन सडकखण्डमा दुईपाङ्ग्रे सवारीले जेब्राक्रसिङबाट वारपार गर्न थालेपछी डिभाइडरको बार लगाईएको छ । ६ लेन सडकखण्ड अन्तरगत अत्तरिया क्षेत्रका जेब्राक्रसिङबाट दुईपाङ्ग्रे सवारीले जथाभावी वारपार गर्न थालेपछी मेडइनमा डिभाइडरको बार लगाईएको हो ।
मान्छे मात्रै हिँड्न मिल्ने गरी गोदावरी नगरपालिकाले हरेक जेब्राक्रसिङको मेडइनमा दुईओटा डिभाइडर राखेको छ । गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्टले दुईपाङ्गे सवारीले जेब्राक्रसिङबाट जथाभावी वारपार गर्ने गरेकोले डिभाइडर राखिएको बताए ।
“दुईपाङ्ग्रे सवारीले जथाभावी वारपार गर्न थाले । त्यसोगर्दा दुर्घटनाको जोखिम झन् बढ्यो,त्यसैले मान्छे मात्रै हिँड्न मिल्ने गरेर तत्कालका लागि डिभाइडर राखेका हौँ उनले भने ।”
६ लेन सडकको मेडइनमा चालु आर्थिक वर्षमा तारजाली सहितको वृक्षारोपण पनि गर्ने योजना नगरपालिकाको रहेको हुँदा तत्कालका लागि डिभाइडर राखिएको उनले बताए ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल उप्रेतीले जेब्राक्रसिङबाट दुईपाङ्ग्रे सवारीले जथाभावी वारपार गर्दा दुर्घटनाको जोखिम बढेको बताए ।
जेब्राक्रसिङको मेडइनमा डिभाइडर राखेको देख्दा धेरैजसो पैदलयात्री भने अलमलमा पर्ने गरेका छन् ।