अत्तरिया – सुदूरपश्चिममा आज (भदौ १ गते) ओल्के पर्व मनाइदैछ । पिँडालुको हरियो पात ‘गाभा’ लाई आजको दिन विशेष महत्वका साथ घरघरमा भित्र्याएर त्यसको परिकार बनाई खाने प्रचलन छ।
बर्षायामका बैशाख, जेठ, असार र साउन महिना रोगव्याधि तथा महामारी फैलने, विभिन्न किसिमका प्राकृतिक बिपत्तीका महिना मानिन्छन् ।
साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुशियालीमा सुदुरका पहाडि जिल्लामा ओल्के पर्व मनाउने चलन छ।
साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ। ओल्को भन्नाले ’उपहार’ वा ’कोसेली’ भन्ने बुझिन्छ।
ओल्कोमा मान्यजनलाई हरियो साग ,मुख्यतयाः कर्कलाको गाभा र फलफुल दिईने गरिन्छ । यसबाहेक अन्न, दुध, दही, घ्यू, गूड र पक्वान्न आदी पनि दिईन्छ ।शिल्पकारहरुले आफुले बनाएका सामानहरु पनि दिने गर्दछन् ।
नयाँ पुस्ताले अचेल आफ्ना मान्यजनहरुलाई लुगाकपडा, पैसा वा यस्तै अन्य उपहार समेत ओल्को स्वरुप दिन थालेका छन् ।
ओल्के पर्वलाई वर्षकै जेठो पर्वका रुपमा मनाइने गरिन्छ । ‘ओल्के’ पर्वलाई आफूसँग भएको मिठो मसिनो खानेकुरा अरुलाई बाँड्ने पर्वका रुपमा मनाइने गरेको छ।
ओल्के सुदूरपश्चिमको मौलिक पर्व हो । यो पर्व यो क्षेत्रका नौ वटै जिल्ला बाहेक यस क्षेत्रसंग जोडिएका भारतका कुमाउ र गढवाल तिर पनि मनाईन्छ । ओल्केकै अवसरमा साउन मसान्तीको राती हातमा ‘भंगिरी’(एक प्रजातीको फुल)को बोटमा मजेटी लगायतका जडिबुटीहरु एकै ठाउँमा पिसेर हातमा लाउने प्रचलन छ ।
ओल्केको दिन भंगिरी लगाएको हातले मिठो परिकार खाएर भंगिरी चोख्याईन्छ । यसो गरे छालाको रोगको समस्या निको हुने र संक्रमणबाट पनि बच्न सकिने जनविश्वास रहीआएको छ । पछिल्ला वर्षहरुमा भंगिरीको ठाउँ मेहन्दीले लिदै गएको छ ।
ओल्के चाडको दिन सुदूरपश्चिमका पहाडी जिल्लामा गाउँ नजिकको डाँडामा जम्मा भएर रूखबिरुवाका हाँगा र झ्याङ काटेर एक ठाउँमा थुप्रो बनाउने गरिन्छ। यसलाई स्थानीय भाषामा ‘बूढी हालेको’ भनिन्छ।
यसरी बनाइएको थुप्रोलाई असोज संक्रान्तिका साँझ गाउँका सबै जना ‘बूढी हालेको’ भेला भएर पोल्ने गर्छन्। यसलाई ‘बूढी पोल्ने’ भनिन्छ।
यसलाई द्वापरकालिन समयमा श्रीकृष्णद्वारा मारिएकी राक्षस ‘पुतना’को कथासङ्ग पनि जोडिएकोछ । बुढी पोलेमा लुतो लगायतका रोगहरुबाट सम्पुर्ण परिवारजन तथा चौपायाहरु मुक्त हुने विश्वास रहिआएको छ ।बूढी पोल्ने काम सकिएसँगै गाउँमा अनिष्ट एवं कुनै रोगको महामारी नआउने विश्वास छ ।
‘ओल्के’ पर्वका दिन विवाहित छोरीचेलीलाई माइती घरमा बोलाई लाउन, बाबर, बटुक, गतानी डुब्का तथा फाडो, मासे माणा लगायतका स्थानीय खानाका परिकार पकाएर खुवाउने र खाने प्रचलन छ।
सुदूर पहाडको मौलिक पर्वको रुपमा रहेको ओल्केमा कामका लागि घरदेखि टाढा गएकाहरु समेत फर्कने गर्छन् ।