धनगढी – घर डुबेपछि विस्थापित भएका कैलालीका बाढी प्रभावित घर फर्कन थालेका छन् । बाढी घटेकाले दुई दिनपछि स्थानीय आआफ्नो घर फर्कने क्रम सुरु भएको हो तर घरभित्र हिलो भएका कारण कतिपयको बास अझै सडकमै रहेको छ । अविरल वर्षाका कारण कैलालीको कैलारी गाउँपालिकासहित भजनी नगरपालिकाको अधिकांश भूभाग बुधबारदेखि जलमग्न भएको थियो । बाढी घट्दै गएपछि प्रभावितको जनजीवन केही सहज बन्न थालेको छ ।
मोहना, कान्द्रा, पथरैया, काँढालगायतका साना ठुला नदीनालामा आएको बाढीले डुबान गरेपछि सो पालिकाको सबै वडाका ७५० घरपरिवार विस्थापित भएका थिए । प्रभावितहरू हुलाकी राजमार्ग, सुरक्षित भवन, आफन्तको घरमा बस्न बाध्य भएका थिए । डुबानबाट भजनी नगरपालिकामा मात्रै चार हजार ३३७ घरपरिवार प्रभावित भएको जनाइएको छ ।
बाढी घटेपछि भजनीका विस्थापित घर फर्कन थालेको भजनी नगरपालिकाका विपत् व्यवस्थापन स्रोत व्यक्ति विष्णुप्रसाद न्यौपानेले बताए ।
घर हिलाम्मे भएका कारण कतिपय परिवार अझै सडकमै बस्न बाध्य छन् । कैलालीमा सबैभन्दा होचो भूभागमा पर्ने भजनी नगरपालिकाले हरेक वर्ष बाढी विपत्को सामना गर्दै आएको छ । गत वर्ष पनि सो पालिकावासीले थुप्रै पटक डुबान खेपेका थिए ।
यसै गरी कैलारी गाउँपालिका–५ का पाँच विस्थापित परिवार पनि घर फर्केका छन् । कटैनी नदीको बाढीले सो पालिकाको वडा नम्बर ३, ५ र ७ मा डुबान गरेको थियो । डुबानका कारण सुरक्षित स्थानमा सारिएका व्यक्तिहरू घर फर्केको गाउँपालिकाका विपत् व्यवस्थापन स्रोत व्यक्ति भुवन बखरियाले जानकारी दिनुभयो । उहाँका अनुसार बाढीले स्थानीयको अन्न बाली बगाउनुका साथै थुप्रै नोक्सानी गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभरि बाढी, डुबानबाट करिब चार हजार पाँच सय घरपरिवार प्रभावित भएको जनाएको छ । प्रभावितमध्ये केही परिवार विस्थापित भएकोमा हाल धेरै जसो घर फर्केको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए ।