अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ७ मा नवनिर्मित गौशालाको उद्घाटन गरिएको छ । तराईका जिल्लामा चुनौती बन्दै गएको छाडा पशु चौपायाको व्यवस्थापनका लागि गोलादेउ सामुदायिक वनमा निर्माण गरीएको उत्त गौशालाको आज एक कार्यक्रमका बिच गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका हुन् ।
५० गाईबस्तु अटाउने उत्त गौशाला नगरपालिकाले टेन्डर मार्फत प्रदेश सरकारको १८ लाख ४० हजार आथिर्क सहयोगमा निर्माण गरेको हो । गौशाला निर्माणका लागि नगरपालिकाले ३० लाखको टेन्डर आह्वान गरेको थियो । गोदावरी नगरपालिका भित्र रहेका छाडा पशु चौपायाहरुको व्यवस्थापनका लागि प्रदेश सरकारको आर्थिक सहयोगमा गौशाला निर्माण गरेको नगर प्रमुख भट्टले बताए ।
छाडा पशु चौपायाका कारण सडक दुर्घटना, कृषकको बालीनालीको क्षति र मरेका पशुका कारण दुर्गन्ध फैलिने जस्ता समस्या स्थानीयले वर्षौँ देखि भोग्दै आएका छन । सुदूरपश्चिमको प्रदेश राजधानीको रुपमा चिनिएको गोदावरी नगरपालिकाले प्रदेश सँग सहकार्य गर्दै व्यवस्थित गौशाला निर्माणको काम अघि बढाएर पहिलो चरणको काम सकाएर गौशालालाई विधिवत रुपमा उद्घाटन गरिएको छ ।
यो गौशाला निर्माणको पहिलो संरचना रहेको र क्रमिकरुपमा अन्य संरचना तथा गाईवस्तुहरुलाई क्रमिकरुपमा व्यवस्थापन गर्दै जाने दिर्घकालिन योजना रहेको नगर प्रमुख भट्टले बताएका छन । किसानलाई अर्गानिक मलको अभाव भईरहेको बेला सो पूर्ति गर्न समेत गोशालाले सहयोग गर्ने भट्टको भनाई छ । हाल गौशालाको संरक्षकका रुपमा योगी यज्ञराज कडेल रहेका छन् ।
गौशालालाई पुर्ण रुपमा व्यवस्थीत गर्न करिब १ वर्ष लाग्न सक्ने कडेलले बताएका छन् । गौशालालाई आत्मनिर्भर बनाउने आफुहरुको योजना रहेको कडेलले बताएका छन् । गाई गोरुको संरक्षणको साथै मल मुत्र प्रयोग गरी अगरबत्ती, किटनाशक औषधि लगायतमा उपयोग गर्न गर्नसके गौशालाको आयस्रोत बढ्ने र रोजगारी सिर्जना हुने उनको भनाई छ । गौशाला निर्माण सम्पन्नपछी खेतीबारी जोगिने विश्वास स्थानीयले गरेका छन् ।