अत्तरिया – कञ्चनपुरको पुर्नवास नगरपालिका–७ की २२ वर्षीय आकाङ्क्षा लामा परिवार,समाजको नजरमा छोरा थिईन् । किनकी उनी जन्मीदा छोराको लिङ्ग लिएर जन्मीएकी थिईन् । उनलाई परिवारले त्यसै अनुरुप पढाए,बढाएको थियो भने समाजले छोराकै व्यवहार गरिरहेको थियो । तर त्यो सबै आकाङ्क्षाको चाहना विपरीत भईरहेको थियो ।
परिवार र समाजले लिङ्गका आधारमा छोरा भनेपनि उनको भावना भने छोरीको थियो । १३/१४ वर्षको उमेरसम्म त आकाङ्क्षाले यो भेउ पाउन सकेकी थिईनन् तर शारीरिक,भावनात्मक रुपमा आएका परिवर्तनले उनलाई सोच्न भने बाध्य बनाउथ्यो । उनलाई स्कुलमा केटीहरुकै संगत गर्न मन लाग्थ्यो,केटीहरुसंगै बस्न मन लाग्थ्यो जुन कुरा उनका साथीहरुका लागि हाँसोको विषय बन्न पुग्थ्यो । उनी स्कुल जाँदा नङपालिस लाएर जान रुचाउथिन्,कहिलेकसो हातमा मेहेन्दी पनि लगाउँथिन्,केटीहरुकै बेन्चमा बस्थीन् ।
त्यहि विषयमा एक दिन स्कुलबाट शिक्षकले आकाङ्क्षाको आमालाई फोन गरेर भने,‘यो।।। (उनलाई परिवार र समाजले बोलाउने नाम भन्दै) केटीहरुसंगै बस्छ, नङपालिस, हातमा मेहेन्दी लाएर आउँछ,यस्लाई के गर्ने हो ?’आमाले उताबाट भनिन्,‘त्यसलाई केटाहरुसंग राखिदिनु सर ।’ परिवार,समाज,विद्यालय सबैले आकाङ्क्षाको भावना विपरीतको व्यवहार गरिरहेका थिए,जस्ले उनलाई भावनात्मक रुपमा दिनप्रतिदिन कमजोर बनाईरहेको थियो ।
उनी परिवार र समाजलाई देखाउन भएपनि केटाहरुको संगत गरिरहेकी थिईन् तर भावनात्मक रुपमा विक्षीप्त थिईन् । त्यसैकारण ८ कक्षामा पढ्दै गर्दा उनी कुलतमा फसिन् । चुरोट खाने,रक्सी पिउने गर्न थालिन् जस्ले उनलाई मानसिक रुपमा अझैकमजोर बनाउन थाल्यो । म किन अरुजस्तो भईन,अब मैले के गर्ने भन्ने लागिरहन्थ्यो,पढाईमा ध्यान जाँदैनथ्यो,एकोहोरो भईन्थ्यो”आकाङ्क्षाले भनिन् । साथीहरुले उनीमाथी प्रयोग गर्ने शब्दहरु लाई गुगलमा सर्च गरेर हेरिन् ।
त्यसपछी उनी आफु यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायमा पर्नेबारे प्रस्ट भईन् । बिस्तारै उनले इन्टरनेटबाटै केहि साथीहरु पनि बनाईन्, आफुजस्तै साथीहरु भेटिएपछी उनलाई केहि सहज भने भयो । आफ्नो यौनिक पहिचानको बारेमा खुलेर नहिँड्दासम्म उनलाई उकुसमुकुस भईरहन्थयो,जस्का कारण उनी कुलतमै फसिन् तर जब खुलेर हिँड्न थालिन् अब समाजले नानाथरी कुरा काटेर हैरान बनाउने गरेको आकाङ्क्षाको अनुभव छ ।
आकाङ्क्षाकी आमाले उनलाई साथ दिँदै आएपनि बुवाले भने अझै स्वीकार गरेका छैनन् । “कहिले पैसा चाहिए,केहि गाह्रो अप्ठ्यारो भए,सर-सल्लाह गर्न परे,ममीलाई नै हो भन्ने।बुवाले त भेट भयो की,नाक कटायो,दुनीयाले के भन्ला,दुनियालाई हँसायो,यत्तिमात्रै भन्नुहुन्छ”,आकाङ्क्षाले भनिन् । आकाङ्क्षाकी आमा पनि बाहिर जे जसरी हिँडेपनि घर आउँदा भने छोरा कै पहिरनमा आउन आग्रह गर्छीन् । हाल कैलालीको धनगढीमा कोठा भाडामा बस्दै आएकी उनी घर जानु परे आमाको आग्रह अनुसार नै जान्छीन् ।
गत असोजदेखी उनी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकहतिमा काम गर्दै आएको सुदूरपश्चिम समाजको कार्यालयमा आउजाउ गर्ने गर्छीन् । यहाँ उनीजस्तै अन्य थुप्रै साथीहरु छन् । “यो थाहा पाएपछी कहिलेकसो घर जाँदा पनि छिमेकी र गाउँलेले अकेनथरी प्रश्न गर्छन,गिज्याउँछन्,यत्ति मात्रै होइन ममीलाई समेत छोरालाई जबरजस्ती ‘छक्का’ बनाएको,पैसाको लोभमा छोराको जिन्दगी बरबाद पारेको भनेर लाञ्छना लगाउने गरेका छन् ।आकांक्षाले भनिन् ।”
आफुलाई तेस्रोलिङ्गी महिला बताउने आकाङ्क्षालाई समाजको यस्तै व्यवहारको डरले घर जानै मन लाग्दैन । समाजले अनेक भनेर गिज्याउँदा आफुहरुले महिला र पुरुषभन्दा अर्को पनि समुदाय छ भन्ने बुझाउन खोज्दा आफहरुु गएको प्राय ठाँउमा झगडाकै स्थीती सिर्जना हुने गरेको उनको अनुभव छ । “आफ्नै साथीहरुको जन्मदिन मनाउन उस्को घरसम्म जाँदा होस् वा कुनै अन्य ठाँउमा जाँदा होस् त्यहाँ भएका व्यक्तिहरुले हामीलाई जवरजस्ती छुने,अपाच्य शब्दहरु बोल्ने गर्नुहुन्छ । हामी हामीलाई त्यस्तो नगर्नुस भन्न खोज्छौँ,अनी उहाँहरु कुटपिटमै उत्रिएर हामीलाई लखेट्नुहुन्छ हुन्छ,आकाङ्क्षाले भनिन् ।”
“जबसम्म म मेरो इच्छा मारेर,समाजको चाहना अनुसार हिँडेकी थिए,त्यतिबेलासम्म सबैले राम्रै व्यवहार गर्थे,जब मैले आफुलाई चिने र त्यहि अनुसार प्रस्तुत भए त्यसपछी मलाई मात्रै नभएर परिवारलाई समेत अनेकथरी कुरा सुनाएर हैरान बनाउने गरेका छन्,उनले भनिन् ।” अहिलेको समयमा पनि यौनिकताकै आधारमा समाजबाट विभेद, लाञ्छना र हिंसा सहन यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका व्यक्तिहरु बाध्य रहेको आकाङ्क्षाको अनुभव छ ।