अत्तरिया – सुदूरपश्चिम प्रदेशमा गत आर्थिक वर्ष २०८०/८१ मा विद्युत खपत बढेको छ ।
आर्थिक वर्ष ७९/८० मा ३२ करोड ९४ लाख ८९ हजार ५४० युनिट मात्रै विद्युत खपत भएकोमा गत आर्थिक वर्ष २०८०/८१ मा ३७ करोड ६९ लाख युनिट विद्युत खपत भएको छ । नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा ३७ करोड ६९ लाख ४५ हजार युनिट विद्युत खपत भएको हो ।
जसमध्य सबैभन्दा बढी धनगढी वितरण केन्द्र अन्तरगतका उपभोक्ताले १३ करोड ८४ लाख ६३ हजार युनिट विद्युत खपत गरेका छन् भने सबैभन्दा कम बाजुरा वितरण केन्द्र अन्तरगतका उपभोक्ताले १२ लाख ५६ हजार युनित विद्युत खपत गरेका छन् ।
आर्थिक वर्ष ७८/७९ मा पनि सुदूरपश्चिममा ३२ करोड १५ लाख ४ हजार ५२४ युनिट विद्युत खपत भएको थियो । विद्युतीय गाडी भित्रिनु र बढ्दो गर्मीको कारण पनि अघिल्ला वर्षभन्दा विद्युत खपत बढेको प्राधिकरणको भनाई छ ।
८ हजार ३ सय ग्राहकको लाइन काटियो
प्राधिकरणले प्रदेशभर गत आर्थिक वर्षमा विद्युत महसुल नतिरेका ८ हजार ३ सय ९ ग्राहकको लाइन काटेको छ । प्राधिकरणका विभिन्न वितरण केन्द्रहरुले समयमा विद्युत नतिर्ने ग्राहकको लाइन काटेर कारबाही गरेका हुन् । यी ग्राहकबाट प्राधिकरणले १४ करोड ९० लाख १९ हजार ६५ रुपैयाँ उठाउन बाँकी थियो ।
प्राधिकरणका अनुसार लाइन काटेर कारबाही गरेपछी ७ हजार १६० जनाले जरिवानासहितको १२ करोड ९८ लाख ७८ हजार ५१० रुपैयाँ बुझाएपछी लाइन पुन: जोडीएको छ । सातवटा पहाडी जिल्लामा एकएक,कैलालीमा तीन र कञ्चनपुरमा दुई गरी सुदूरपश्चिममा प्राधिकरणका १२ वटा वितरण केन्द्रहरु रहेका छन् ।
२६ करोड ६२ लाख पुरानो बक्यौता उठ्यो
प्राधिकरणले गत आर्थिक वर्षमा २६ करोड ६२ लाख पुरानो बक्यौता रकम उठाएको छ । गत वर्षमा उपभोक्ताले खरीद गरेको ३७ करोड ६९ लाख युनिट विद्युतमार्फत प्राधिकरणले तीन अर्ब २४ करोड ३२ लाख ३८ हजार रुपैयाँ उठाउनु पर्नेमा ३ अर्ब १७ करोड ८९ लाख ३१ हजार रुपैयाँ उठाएको छ भने जम्मा ३ अर्ब ४४ करोड ५१ लाख ३८ हजार रुपैयाँ उठाएको छ ।
३३ हजार उपभोक्ता बढे
गत आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा विद्युत प्राधिकरणका ३३ हजार १६० उपभोक्ता बढेका छन् । आर्थिक वर्ष २०७९/८० मा ३लाख ३९ हजार ३५२ उपभोक्ता रहेकोमा गत आर्थिक वर्षमा ३ लाख ७२ हजार ५१२ उपभोक्ता पुगेको प्रादेशिक कार्यालयले जनाएको छ ।