अत्तरिया – आत्महत्या गर्नेमा महिला र बालिकाको सङ्ख्या बढी रहेको पाईएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीको पछील्लो तीन वर्ष (चालु आर्थिक वर्षको आजसम्म) को तथ्याङ्क अनुसार जम्मा १६१ जनाले आत्महत्या गरेकोमा ६६ जना महिला रहेका छन् भने ६२ जना पुरुष रहेका छन् ।
त्यस्तै २० जना बालिका र १३ जना बालकले उत्त अवधीमा आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०७८/७९ मा २२ जना पुरुष,२७ जना महिला र १ बालक तथा ४ बालिका गरी ५४ जनाले आत्महत्या गरेका थिए । त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १३ जना पुरुष,२२ जना महिला र ७ बालक तथा ८ बालिका गरी ५० जनाले आत्महत्या गरेका थिए भने आर्थिक वर्ष २०८०/८१ मा २० जना पुरुष,१६ जना महिला र ४ बालक तथा ८ बालिका गरी ४८ जनाले आत्महत्या गरेका थिए ।
त्यस्तै चालु आर्थिक वर्षको हालसम्म ७ पुरुष,१ महिला र १ बालक गरी ९ जनाले आत्महत्या गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । पारिवारक कलह, मानिशक स्वास्थ्यमा समस्या,डिप्रेशन लगायतका कारणले आत्महत्या गर्नेको सङ्ख्या बढी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक गंगा बहादुर थापाले बताए । आज सेप्टेम्बर १० मा आत्महत्या रोकथाम दिवस मनाइँदै छ । ‘आत्महत्या रोकथामबारे संवाद शुरु गरौँ, दृष्टिकोण बदलौँ’ भन्ने नाराका साथ जनचेतनामूलक कार्यक्रम गरी यो दिवस मनाइँदैछ ।
विश्वभर प्रतिवर्ष ८ लाखभन्दा बढी व्यक्तिले आत्महत्या गर्ने बताइन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार कुल आत्महत्याको ७७ प्रतिशत कम र मध्यम आय भएको देशमा हुन्छ। नेपालमा दैनिक सरदर २० जनाले आत्महत्या गर्ने गरेका छन्। नेपालमा आर्थिक वर्ष २०८०/८१ मा सात हजार २२३ जनाले आत्महत्या गरेका थिए।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा.यदुचन्द्र घिमिरे आत्महत्याका को उच्च जोखिममा रहेका वर्गको पहिचान गरी उनीहरूलाई निरन्तर निगरानीमा राख्नुपर्ने बताउँछन् । आत्महत्या बढ्दै गएपछि संसदीय समितिको निर्देशनअनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मानसिक अस्पतालमा ११६६ नम्बरको हटलाइन सेवा सञ्चालनमा ल्याएको छ ।