धनगढी – नेपाली कांग्रेस सुचना सञ्चार तथा प्रचार प्रसार शाखाको आयोजनामा आज धनगढीमा १११ औं बीपी जन्मजयन्ती मनाएको छ । सो अवसरमा बीपीले अवलम्वन गरेको राष्ट्रियता, लोकतन्त्र, समाजवाद बिषयक अन्तर सम्वाद कार्यक्रम गरी बीपी जयन्ती मनाएको हो ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्ट र नृपबहादुर ओडले बीपीको फोटोमा संयुक्त रुपमा माल्यार्पण गरेर कार्यक्रमको उदघाटन गरे । कार्यक्रममा बीपी कोइराला र राष्ट्रियता सम्बन्धी कार्यपत्र नेपाली कांग्रेसका जिल्ला सचिव नृपबहादुर सुनारले प्रस्तुत गरे । १०४ बर्षे निरंकुश राणा शासन अन्त्य र प्रजातन्त्र स्थापनाका निम्ति सशस्त्र आन्दोलनको नेतृत्व गरेका बीपी सधै राष्ट्र र जनहितका निम्ति लडिरहने व्यक्ति रहेको कार्यपत्रमा उल्लेख छ ।
सुनारले प्रस्तुत गरेको कार्यपत्रमा २००७ सालको क्रान्तिपछि जनस्तरबाट प्रथम गृहमन्त्री तथा २०१५ सालको संसदीय निर्वाचन पछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बनेका बीपीको राजनीतिक जीवन ज्यादै कष्टकर रहेको उल्लेख छ ।
त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य सुशीला मिश्र भट्टले बीपी र लोकतन्त्रका बिषयमा कार्यपत्र प्रस्तुत गरेकी थिइन । उनले प्रस्तुत गरेको कार्यपत्रमा बीपीले लोकतन्त्र प्रतिको अथक निष्ठा कहिल्यै नगुमाएको र उनी सधै लोतन्त्रको पक्षमा वकालत गर्ने शिखर पुरुष रहेको उल्लेख छ ।
प्रजातन्त्रवादी प्राध्यापक संघका पूर्व उपाध्यक्ष जगन्नाथ जोशीले पनि बीपीको प्रजातान्त्रिक समाजवाद सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएका कार्यपत्रमाथि सहभागीले छलफल गरेका थिए। नेपाली कांग्रेस सूचना सञ्चार तथा प्रचारप्रसार शाखाका संयोजक तपेन्द्र भुसालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन प्रचारप्रसार शाखाका सदस्य श्रवण देउवाले गरेका थिए ।