अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया सामुदायिक सिकाई केन्द्र (सिएलसि)ले बालविकास केन्द्रका बालबालिकाका लागि नृत्य प्रतियोगिताको आयोजना गरेको छ । आज ६० औं बाल दिवसको अवसर पारेर केन्द्रले नृत्य प्रतियोगिता सम्पन्न गरेको हो ।
प्रतियोगितामा सुनिता नागरीले प्रथम स्थान हासिल गरेकी छिन । प्रथम भएसंगै उनले नगद सात सय रुपैयाँ पाएकी छिन् ।
त्यस्तै दित्तिय भएकी निशा चौधरीले ६ सय रुपैयाँ पुरस्कार पाएकी छिन् भने नवराज भुलले तृतीय स्थान हासिल गरी ५ सय रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । कार्यक्रममा बोल्दै सिएलसिका अध्यक्ष टिकादत्त जोशीले बालबालिकाका हक सुनिश्चित गर्ने उदेश्यले बाल दिवसलाई लक्ष्यित गरी प्रतियोगिताको आयोजना गरीएको बताए । प्रतियोगितामा गोदावरीका तीन विद्यालयका बालबालिकाले सहभागिता जनाएका थिए ।
राष्ट्रिय बाल दिवस आज देशभर नै विभिन्न कार्यक्रम गरी नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार महासन्धिलाई २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो। सोहीअनुरुप नेपालले राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालेको हो। २०२१ सालदेखि तत्कालीन रानी रत्नको जन्मदिन भदौ ४ गतेदेखि मनाउन शुरु गरिएको राष्ट्रिय बाल दिवस २०६३ सालदेखि भदौ २९ गते मनाउन थालिएको हो।
सन् १९८९ नोभेम्बर २० मा संयुक्त राष्ट्रसंघ महासभाबाट बालअधिकारसम्बन्धी महासन्धि पारित भयो। पछि यसलाई नेपालले सन् १९९० सेप्टेम्बर १४ मा अनुमोदन गरेको दिनको सन्दर्भ पारेर बाल दिवस मनाउन थालियो।
संविधानले बालबालिकाको हकलाई मौलिक हकका रूपमा व्यवस्था गरी बाल बचाउ, बाल संरक्षण, बालविकास र बाल सहभागिताजस्ता विषय समेटी सर्वांगीण विकासको प्रत्याभूत गरेको छ। संयुक्त राष्ट्रसंघीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ तथा अन्य बालअधिकारसम्बन्धी अन्तर्राष्ट्रिय सन्धिमा गरेको प्रतिबद्धताअनुरूप सरकारले बाल अधिकारसम्बन्धी नीति तथा कानुन तर्जुमा गरी कार्यान्वयन गर्दै आएको छ।