जापानिज इन्सेफ्लाइटिसबाट १४ जनाको मृत्यु, यी हुन् लक्षण

Image
maya metro

काठमाडौं – जापानिज इन्सेफ्लाइटिसको संक्रमणबाट सन् २०२४ को जनवरीदेखि हालसम्म १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले जापानिज इन्सेफ्लाइटिसबाट हालसम्म १४ जनाको मृत्यु भएको जानकारी दिए ।

डा. गौतमका अनुसार, हालसम्म ६१ जनामा जापानिज इन्सेफ्लाइटिसको संक्रमण देखिएको छ । ती सबैको नमुना परीक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको थियो ।

nisarga

उनले भदौ १५ देखि असोज १५ गतेसम्म जापानिज इन्सेफ्लाइटिस्को उच्च जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरे ।

सामान्यता साउनदेखि कात्तिकसम्म जापानिज इन्सेफ्लाइटिस देखिन्छ । तर, जापानिज इन्सेफ्लाइटिस सार्ने पोथी प्रजातिको क्युलेक्स लामखुट्टेले पानी जमेको ठाउँमा फुल पार्ने भएकाले असोज १५ गतेसम्म जोखिम नै रहेको डा. गौतमको भनाइ छ ।

धान खेतमा जम्मा हुने पानीमा ती प्रजातिका लामखुट्टेले फुल पार्छन् । ती फुलबाट लामखुट्टेले सुँगुर र हाँसलाई टोकेर आफूमा संक्रमण सार्छन् । र, ती संक्रमित लामखुट्टेले मानिसलाई टोकेपछि रोग सर्छ ।

क्युलेक्स लामखुट्टेले फोहोर पानीमा फुल पार्ने गर्छ । क्युलेक्स प्रजातिको लामखुट्टेले टोकेको ६ देखि १६ दिनसम्म जापानिज इन्सेफ्लाइटिसको लक्षण देखापर्ने डा. गौतमले बताए ।

सन् २०१६ देखि सरकारले जन्मेको १२ महिनाका बालबालिकालाई जापानिज इन्सेफ्लाइटिसविरुद्धको खोप दिँदै आएको छ ।

सन् १९९९ देखि २००६ सम्म केही उच्च जोखिम भएका जिल्लामा खोप दिइएको थियो । त्यसपछि जन्मेका सबै बालबालिकालाई उक्त संक्रमणबाट जोगाउन खोप दिइँदै आएको छ ।

शाखा प्रमुख डा. गौतमले १२ महिनामा छुट भएका बालबालिकालाई पाँच वर्षसम्म खोप दिइने जानकारी दिए । जापानिज इन्सेफ्लाटिस धेरैजसो १५ वर्षमुनिका बालबालिकामा हुने गर्छ ।

लामखुट्टेले टोकेपछि बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुनेजस्ता समस्या देखिने गर्छ । लामखुट्टेको टोकाइबाट बच्न झुल टाँगेर मात्र सुत्ने, हाँस, कुखुरा, सुँगुरजस्ता घरपालुवा जनावरलाई घरदेखि टाढा राख्ने, घरबाहिर निस्कँदा वा खेतबारीमा काम गर्दा पूरा बाहुला भएको लुगा लगाउने, घरको झ्यालढोकामा जाली राख्ने, घर वरिपरि पानी जम्ने खाल्डाखुल्डी पुर्ने, लामखुट्टे भगाउने धुप बाल्ने वा मलम लगाउनुपर्छ ।

रासस