काठमाडौं – पञ्चाङ्ग (पात्रो) बनाउँदा ग्रहस्थिति र गणितबीच फरक पर्न थालेपछि गणना पद्धति परिवर्तन गर्ने विषयमा छलफल शुरु भएको छ।
केतकी ग्रह गणितका आधारमा पञ्चाङ्ग गणना गर्ने विषयमा नेपाल पञ्चाङ्ग निर्णायक समितिले बहस शुरु गरेको हो। समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले केतकी ग्रह गणितअनुसार ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा गणित र आकाशीय ग्रह स्थितिमा फरक नपर्ने भनी बहस शुरु भएको जानकारी दिए।
समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेल गणना र आकाशीय ग्रह अवस्थाका बारेमा देखिएका समस्या सकेसम्म हटाउने, हटाउन नसके घटाउने गरी ग्रह गणना विधि स्थापित गर्न अध्ययन भइरहेको बताए।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हाल सूर्य सिद्धान्त नामक ज्योतिष शास्त्रको ग्रन्थका आधारमा गणना गरिएका पात्रोलाई स्वीकृति दिने गरेको छ । सूर्य सिद्धान्तअनुसार गणना गर्दा ग्रहण, ग्रहयुति, ग्रहको उदय अस्तलगायत विषयमा मेल हुन छोडेको समितिका अध्यक्ष प्रा. अधिकारीले बताए।