अत्तरिया – सुदूरपश्चिम प्रदेशको आर्थिक वर्ष २०८१/८२ को बजेटमा कैलालीको गोदावरी धाममा झोलुङ्गे पुलको योजना समावेश गरीएको छ ।
गोदावरी धामका सबै भौतिक संरचना अवलोकनका लागि गोदावरी नदीले असहज गरीरहेको भन्दै त्यहाँको समितिले पनि लामो समयदेखी नै झोलुङ्गे पुलको माग गर्दै आईरहेको थियो ।
गोदावरी नदी वारपारका लागि लामो समयदेखी झोलुङ्गे पुलको माग गरिँदै आएको भएपनि चालु आर्थिक वर्षका लागि भदौ ३१ गते पेश गरीएको बजेटमा योजना समावेश गरीएको हो ।
धाममा झोलुङ्गे पुलको योजना समावेश भएसंगै जस लिन यस क्षेत्रका वर्तमान र निर्वतमान जनप्रतिनिधको होडबाजी नै चलेको छ । नेकपा एमालेका शुभचिन्तकहरुले पार्टीका केन्द्रिय सचिव एवम् सुदूरपश्चिम इन्चार्ज लेखराज भट्टले गोदावरी धाममा झोलुङ्गे पुलको योजना समावेश गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।
त्यस्तै राप्रपाकी प्रदेश सभा सांसद खेमा देवी विष्टले आज प्रदेश सभामा बजेटमाथी भइरहेको छलफलमा आफ्नो धारणा राख्दै दिर्घ सोडारीले नै पेश गरेको बजेटमा राप्रपाको सांसदको लेटर प्याडमा गोदावरी धाममा झोलुङ्गे पुलको योजना सिफारीस भएको बताइन् ।
उनले उत्त योजनाको श्रेय नलिन कैलाली क्षेत्र नम्बर ४ का अन्य जनप्रतिनिधिलाई आग्रह गर्दै यत्रो ६,७ वर्षसम्म तपाइँहरुको आँखा गएन?भन्दै प्रश्न गरिन् ।
‘अहिले सिफारिस गर्दैगर्दा फेसबुकमा बधाई अरुले खाइरहेका छन्,काम गर्ने कालु मकै खाने भालु?पहिला काम गर्नुस अनि बधाई खानुस उनले भनिन्,आफ्नो आँखा त्यहाँ नजाने।कसैको आँखा त्यहाँ गयो भने आफु पावरमा छौँ,बलमा छौँ,जे पनि गर्न सक्छौँ भनेर बधाई नखान म आग्रह गर्न चाहन्छु ।’