
कैलाली – कैलालीको गोदावरी नगरपालिका र धनगढी उपमहानगरपालिका भएर बग्ने खुटिया नदीबाट यी दुई पालिकाले करोडौैं रकम राजस्व संकलन गर्दछन् । गोदावरी नगरपालिकाले नदीजन्य पदार्थ संकलन गर्ने तीन नदी मध्ये मुख्य नदी खुटिया नै हो ।
चुरे पहाडबाट कैलालीको पश्चिमीमध्य क्षेत्र हुँदै बग्ने खुटिया नदी दक्षिणमा मोहना नदीमा मिसिन्छ । गोदावरी नगरपालिकाको राजस्व शाखाका अनुसार नगरपालिकाले गत आथिक वर्षमा नदीजन्य पर्दाथबाट ६ करोड ४३ लाख७५ हजार सात सय रुपैयाँ राजस्व सङ्कलन गरेकोमा करिब साढे चार करोड रुपैयाँ खुटिया नदीबाटै उठाएको थियो ।

नदीजन्य पदार्थ संकलनकालागि स्थानीय तहहरूको प्रतिस्पर्धा चल्ने भएपनि प्रभावित ठाँउ तथा बस्तीमा विकास निर्माण गर्ने कुरामा भने उनीहरूको ध्यान पुगेको छैन । स्थानीय तह नआउँदासम्म नदीजन्य पर्दाथ जिल्ला विकास समितिले उत्खनन् गर्ने गथ्र्यो ।
सङ्कलित राजस्व नदीजन्य पदार्थउत्खनन् गरिएको स्थानीय निकायलाई सबैभन्दा बढी,तल्लो तटीय क्षेत्रमा पर्ने स्थानीय निकायलाई अलिकम र खोला,नदी उत्पन्न भएको स्थानीय निकायलाई सबैभन्दा कम हिस्सा छुट्याइन्थ्यो ।
त्यतिबेला बाँडफाँटको आधार जिल्ला सभाले नै तय गर्ने गरेको जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशी बताउँछन् ।
तर पालिकाको प्राथमिकतामा अरूधेरै कुरा भएकाले व्यवहारमा त्यो लागू हुन सकेको थिएन ।
जसका कारण नदी किनारका बासिन्दा हरेक बर्र्खायाम त्रासमा बिताउँथे । खुटिया नदीले विशेष गरी गोदावरी नगरपालिका वडा नम्बर ८ र ९ को साथै धनगढी उप महानगरपालिकाका १७ र ७ नम्बर वडालाई प्रभावित पार्दै आइरहेको छ ।
समय—समयमा गोदावरी ८ र ९ का जनप्रतिनिधिसहित स्थानीयले नदी किनारका बासिन्दालाई सुरक्षित राख्न र कटान रोक्नका लागि राजस्वको केही हिस्सा रकम सोही क्षेत्रमा विनियोजन गर्नुपर्ने माग राख्दै आइरहेका छन् । खुटिया नदीले बाटो बिराएर बस्ती पस्दा कैयन् परिवार विस्थापित भएका छन् ।
गोदावरी नगरपालिका वडा नम्बर ८ का पूर्वअध्यक्ष नरेश अधिकारीका अनुसार खुटिया नदीका कारण वडा नम्बर ८ को खुटिया पुल नजिकका ७ घरपरिवार विस्थापित भए । शिवमन्दिरको धर्मशालासहित खेत पनि खुटियाले बगायो ।
दशकअघिसम्म १ किलोमिटर परै रहेको खुटिया नदीले केही वर्षदेखि धार परिवर्तन गरी वडा नम्बर ९ को घना आवादी भएको सेहरीतिर कटान गर्दै आएको छ ।
निरन्तरको कटानले सेहरीसहित नदी आसपासका ५७३ परिवार कुन दिन गाउँ नै खुटियाले बगाउने हो भन्ने त्रासमा थिए । तटबन्ध माग गर्दै उनीहरू नगरपालिकादेखि प्रदेश सरकारसम्म पनि पुगे ।
पटकपटकको मेहनतपछि जनताको तटबन्ध कार्यक्रम अन्तर्गत नदीमा तटबन्ध निर्माण भएको पनि थियो । तर निरन्तर सेहरीतिर नै कटान गरिरहेको खुटिया नदीले जनताको तटबन्ध कार्यक्रमले दुई वर्षअघि बनाएको संरचनामा पनि क्षति पु¥यायो । त्यसयता सेहरीवासी निरन्तर त्रासमा रहिरहे ।
नदीकिनाराका७ परिवार विस्थापित भएर अन्तै गएको वडा नम्बर ९ का वडा अध्यक्ष रामलाल रानाले बताए ।गतवर्ष खुटियामा आएको बाढीले गाउँकिनारामा रहेको खेल मैदानमा क्षति पु¥याएको थियो ।
त्यसैका आधारमा यसपालि बर्खायाममा आउने नदीले गाउँ छेउमा रहेको राधास्वामीको भवन र वडा कार्यालय परिसरमा पनि क्षति पु¥याउने आँकलन सेहरीवासीले गरेका थिए । तर यसपालाभने त्यसो हुन पाएन ।
गोदावरी नगरपालिकासँग विपद् व्यवस्थापनमा सहकार्य गरिरहेको अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल विपद् जोखिम व्यवस्थापन परियोजनाले खुटिया खोलामा तटबन्ध निर्माण गरिदियो ।
जोखिम न्युनीकरण कार्यक्रम अन्तरगत गत पुस १२ गतेदेखि नै तटबन्ध निर्माणको काम सुरू भयो । जसका कारण सेहरी,अर्जुनी मात्र नभइ मुरकट्टी,धनचौरीवासी समेत ढुक्कले निदाउन सके ।
१६५ मिटर लम्बाइ, ५ मिटर उचाइ र ३ मिटर चौडाइको यो तटबन्धबाट ५७३ घरधुरीका ३ हजार ६० नागरिक प्रत्यक्ष लाभान्वित भएका छन् । सयौं बिगाह खेती योग्य जमिन जोगिएको स्थानीय बताउँछन् ।
२ करोड ५६ लाख५९ हजार १५३ रुपैयाँ (मूल्यअभिवृद्धि करबाहेक)को लागतमा यो परियोजना सम्पन्न भएको हो । जैविकप्रविधिसहितको(तटबन्धको छेउतिर विभिन्नप्रकारको घाँस रोप्ने, तटबन्ध निर्माण भएको ठाउँमा वृक्षरोपण गरी भूक्षयहुँदै आएको जग्गालाई सुरक्षितबनाउने तौरतरिका)यो तटबन्धले गोदावरीको मात्रै नभइ धनगढी उप महानगरपालिकाको वडा नम्बर १७ का धुरजना,पथरी र वडा नम्बर ७ का बेली,पटेलालगायतका केही गाउँहरूको समेत जोखिम न्यूनीकरण गरेको छ ।
गोदावरी नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष रानाले यही तटबन्धका कारण सेहरी गाउँको जोखिम टरेको बताए । ‘यस भेगको सबैभन्दा ठूलो समस्या भनेकै नदी कटान हो,त्यसैले चुनावको समयमा पनि नदी कटान रोक्ने कार्य नै मेरो मुख्य एजेन्डा थियो ।
विभिन्न निकायको सहयोगले त्यो कामले पूर्णता पायो,’ उनले भने,‘नगर प्रमुख र तयार नेपालप्रति आभारी छु ।’ त्यस भेगका नागरिकको ज्यान, धन बचाउने नै पहिलो दायित्व रहेको बताउँदै रानाले त्यसकालागि स्रोत व्यवस्थापन गर्न प्रदेशको भौतिक मन्त्रालयलगायत विभिन्न निकाय धाउँदा पनि कतैबाट सहयोग नमिलेको बताए ।
‘गाउँको छेवैछेउमा खुटिया नदीले कटान गरेको हुँदा ठूलो बजेट चाहिन्थ्यो । वडा र नगरपालिका तहबाट स्रोत व्यवस्थापन गर्न सकिँदैनथ्यो,’ अध्यक्ष रानाले भने, ‘त्यसकालागि कि यस्तै संघ—संस्था चाहिन्छ । कि प्रदेश र संघीयस्तरको योजना आवश्यक हुन्छ ।’
तटबन्ध लगाएपछि बाढीबाट गाउँबासीलाई सुरक्षित राख्न सकिएको भन्दै उनले खुसीव्यक्त गरे । गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीकी ५५ वर्षीय पार्वती देवी खत्रीले यसपालीको बर्खामा झरी परेको रातमा पनिआफूहरू ढुक्कले निदाउन सकेको बताइन् ।
‘२०४५ सालमा म बिहे गरेर सेहरी आएकीहुँ । त्यसबेला करिब १ किलोमिटर परै थियो खुटिया । यहाँ त बाक्लो घाँस पलाउँथ्यो ।हामी गाई—गोरु चराउँथ्यौं,’पार्वतीले अहिले तटबन्ध गरिएको ठाँउ देखाउँदै भनिन् ।
अहिले निर्माण गरिएको तटबन्ध निकै बलियो र भरपर्दो रहेको पनि उनले बताइन् । ‘विगतमा गरिएको तटबन्ध त हामी उभिँदा पूरै हल्लिन्थ्यो ।यो तटबन्धमा त मुसा पनि छिर्न सक्दैनन्,’ उनले भनिन्, ‘यसले हामीलाई धेरै वर्षसम्म ढुक्क बनाउने देखिन्छ ।’
अझै तलसम्म तटबन्ध गरिएको भए राम्रो हुन्थ्यो भन्ने पार्वतीलाई लागेको छ । तटबन्ध निर्माणका क्रममा सेहरी लगायतका गाउँका ३० जना स्थानियले करिब ६ महिनासम्म रोजगारी समेत पाएको पार्वतीले बताइन् ।
‘मजदुरी काम गर्नकै लागि यहाँका स्थानीयहरू दिनहुँ धनगढी बजार जाने गर्थे,’ उनले भनिन्, ‘उनीहरूले गाउँ नजिकै काम पाए । घरकै भात खाएर, ज्याला कमाएर आफ्नै गाउँलाई विपद्बाट जोगाउने काम गर्न पाए ।’

गत वर्षको बर्खायाममा क्षतिग्रस्त भएको खेल मैदान तटबन्धका कारण जोगिएपछि स्थानीय राजेश चौधरी पनि खुसी भेटिए ।
‘गतवर्षको बाढीले खेलमैदान बगरमा परिणत गरेको थियो । यसपाली त बाढी यताआउनै पाएन । त्यसैले खेल मैदानमा हरियाली छाएको छ,’ चौधरीले भने ।
जिल्ला समन्वय समिति कैलालीका सूचना अधिकारी विमलप्रकाश जोशी नदीले धार परिवर्तन गर्नुमा मानवीय र प्राकृतिक दुवै कारण भएको बताउँछन् । ‘नदीले आफ्नो ठाउँ ओगट्न खोज्छ ।त्यसमा पुराना र नयाँ क्षेत्र दुवै पर्छन् । अनि बहावको धार परिवर्तन हुन्छ,’ जोशीले भने ।
त्यस्तै नदीजन्य पदार्थउत्खनन् गर्दा सावधानीअपनाउनुपर्ने उनको भनाइ छ ।वातावरणीय प्रभावमूल्याङ्कन(आइई) र विस्तृत वातावरणीय अध्ययन
प्रभाव मूल्याङ्कन (ईआईए)नगरी नदीजन्य पदार्थ संकलन गर्दा क्षति निम्तन सक्ने उनले बताए । वातावरणीय प्रभावमूल्याङ्कन,आइई र ईआईए गरिए पनि सम्बन्धित निकायले अनुगमनमा ध्यान पु¥याउन नसक्दा त्यसले निम्त्याउने क्षति अकल्पनीय हुने उनको भनाइ छ ।
उनले अर्को कारण पनि सुनाए । चुरेक्षेत्रमा बढेको मानवीय गतिविधिल नदीमा गेग्रान बहाबको मात्रा बढेको छ । उनका अनुसार नदीजन्य पदार्थ निकासी रोकिँदा पनि गेग्रान, ढुंगा र बालुवा थुप्रिएर नदीको सतहमाथि आउने र जसले धार परिवर्तनमा सघाउ पु¥याउँछ ।
‘उत्खनन् नगर्दा पनि क्षति हुने भएकोले त्यसकालागि आइईगर्दा गेग्रान, ढुंगा र बालुवा थुप्रिएको ठाउँ समेत पर्ने गरी गर्नुपर्दछ,’ उनले भने । यसको मुख्यजिम्मेवारी स्थानीय तहकै भएको जोशीको भनाइ छ ।
गोदावरी नगरपालिकाकी उप प्रमुखशारदा देवी रोकायाले आफूले अनुगमनका क्रममा जैविक प्रविधिसहितको उत्कृष्ट तटबन्ध बनेको पाएको बताइन् । तयार नेपालले तटबन्ध निर्माण गरी गोदावरीका जनताको जीउधन बचाउन राम्रो भूमिका खेलेको पनि उनले बताइन् ।
‘हामीले नगरको मात्र स्रोतबाट यति ठूलो योजना बनाउन सम्भव नै हुँदैन,’उनले भनिन् ‘तयार नेपाल परियोजनाका कारण हामीले पनि जस पाएका छौं ।”तटबन्धमा मात्रै नभइ नगरपालिकामा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन लगायत अन्य थुप्रै काममा तयार नेपालको साथ—सहयोग पाएको उनले बताइन ।
‘तयार नेपालले हाम्रो पालिकामा नगर आपतकालीन् कार्य सञ्चालन केन्द्र स्थापना गर्ने देखि नगरपालिकाको कार्यालयमा विभिन्न सामग्रीहरू सहयोग समेत गरेको छ । कर्मचारीहरूलाई विभिन्न तालिमहरू प्रदान गरेर उनीहरूको क्षमताअभिवृद्धी गर्न पनि सहयोग गरेको छ,’ उप प्रमुख रोकायाले भनिन् ।
गोदावरी नगरपालिकाका नगर प्रमुख विरेन्द्र भट्टले तयार नेपाल परियोजनाले वडा नम्बर ९ को खुटिया खोलामा मात्रै जैविकप्रविधिसहितको तटबन्ध निर्माण गरेको नभई, वडा नम्बर १२ को टुडैला खोलामा र वडा नम्बर १० को चाक्ले खोलामा तटबन्ध निर्माण गरी जोखिममा रहेको आर्दश बस्ती तथा जनप्रभात टोल जोगाउन समेत मुख्य भूमिका खेलेको बताए
तयार नेपालले गोदावरीमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि, नगर आपत्कालीन कार्यसञ्चालन केन्द्रको कार्यविधि, विपद् जोखिम न्यूनीकरण स्थानीय कार्यक्रम सञ्चालन कार्यविधि, र विपद् पोर्टल सञ्चालन कार्यविधिमा पनि सहयोग गरेको भट्टले बताए ।
यसका साथै नगर स्वयंसेवक ब्यूरो गठन तथा परिचालन निर्देशिका, विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना, जोखिम संवेदनशील भू–उपयोग योजना भू–उपयोग नीति, भौतिक पूर्वाधार तथा भवन निर्माण मापदण्डजस्ता नीतिगत सहयोग गरेर यस नगरपालिकाको विपद् व्यवस्थापन शाखा, आपत्कालीन कार्यसञ्चालन केन्द्रको स्थापना तथा सञ्चालनमा ठूलो योगदान पु¥याएको नगर प्रमुख भट्टले बताए ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजना सँगको सहकार्यमा तयार गरिएका नीतिगत दस्तावेजहरूको कार्यान्वयन, नियमित पुनरवलोकन र समयानुकूल अद्यावधिक गर्ने, उपलब्ध गराइएका सामान, औजार, उपकरणहरूको नियमित रेखदेख, मर्मत—सम्भारमा पालिकाको क्षमता विकासभएको छ ।
साथै यसैको सिकाइबाट विपद् जोखिम न्यूनीकरण तथाव् यवस्थापनलाई वार्षिक योजना तर्जुमामार्फत् बजेट विनियोजन,कार्यान्वयन र अनुगमनको जिम्मेवारी तथा जवाफदेहिता पनि नगरपालिकाको हुने समेत भट्टले प्रतिवद्धता जनाए ।