धनगढी – धनगढीमा युवती मृत अवस्थामा फेला परेको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । ६ मंसिर २०८० मा धनगढी उपमहानगरपालिका–६ को सरस्वती सामुदायिक वनमा डडेल्धुराको अमरगढी गाउँपालिका–२ की ३१ वर्षीया बिमा थापा मगर मृत भेटिएको घटनामा दुई जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–५ बस्ने २८ वर्षीय संजिव चौधरी र ३० वर्षीय जनक देउवा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालयले दुवै जनालाई आइतबार पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको छ ।
उनीहरु मध्ये चौधरीलाई सीमावर्ती भारतीय बजार गौरीफन्टा र देउवालाई धनगढीबाटै पक्राउ गरिएको कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर बिष्टले जानकारी दिए । दुवै जनाविरुद्ध कर्तव्य ज्यान शिर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान अघि बढाइने एसपी बिष्टले बताए ।
शारीरिक सम्बन्धपछि कुटपिट, बेहोस भएपछि शव व्यवस्थापन
प्रारम्भिक अनुसन्धानका क्रममा बिमा थापामगरसँग अभियुक्तद्धयले लागुऔषध सेवन र शारीरीक सम्बन्ध राखेको पाइएको छ । सोही क्रममा कुटपिट गरेर थापा बेहोस् भएपछि स्कु्टरमा राखेर दुवै जनाले सरस्वती सामुदायिक वनमा फालेका थिए ।
एसपी बिष्टकाअनुसार २९ कात्तिक २०८० मा पक्राउ परेका मध्ये जनक देउवाको घरमा दुवै जना(संजिव र जनक) ले लागुऔषध सेवन गरेका थिए । उनीहरुबीच चौधरीसँग चिनजान रहेकी बिमा थापामगरलाई पनि घरमा बोलाउने सल्लाह हुन्छ ।
चौधरीले नै मृतक थापा मगरलाई रातिको समयमा फोन सम्पर्क गरेर देउवाको घरमा बोलाउँछन् । उनीहरु फेरी लागुऔषध सेवन गर्छन् । सोही क्रममा थापा मगरसँग चौधरी र देउवाले शारीरीक सम्पर्क राख्छन् । शारीरीक सम्पर्क गर्ने बेलामा उनीहरुले कुटपिट समेत गरेका थिए ।
बिहान उठ्ने बेला युवती बेहोस् अवस्थामा भेटिएपछि स्कुटरमा राखेर उनलाई सरस्वती सामुदायिक वनमा फालिएको थियो । देउवाले स्कुटर चलाएर चौधरीले युवतीलाई पछाडिबा समातेको बयान दिएका छन् ।
उनीहरुले लागुऔषधबाट मृत्यु भएको देखाउने उद्देश्यले घटनास्थलमा केही लागुऔषध समेत फालेका थिए । मृतक थापामगरको मोबाईल प्रतिवादी मध्येका संजिव चौधरीले घरमा ल्याएका थिए । सडेगलेको अवस्थामा मृतक थापाको शव जंगलमा फेला परेको थियो ।
मोबाईलबाट खुल्यो रहस्य
बिमा थापा मगरको शव सडेगलेको अवस्थामा फेला परेकाले प्रहरीलाई सनाखत गर्न गाह्रो भएको थियो । तर मृतककी साथी देउमती साउँदले लुगाका आधारमा उनी मुस्कान भनिने बिमा थापा मगर भएको भनी सनाखत गरेपछि प्रहरी उनको परिवारसम्म पुगेको थियो ।
एसपी पदमबहादुर बिष्टले साउँदले मृतकको सनाखत गरेपछि उनका बुवाले आफ्नो छोरी नै भएको बताउँदै १० कात्तिकमा जिल्ला प्रहरी कार्यालय कैलालीमा ज्यान सम्बन्धी जाहेरी दिएर लाश बुझेको बताए । उनकाअनुसार त्यो बेलासम्म थापा मगरको मृत्युको कारण खुलेको थिएन ।
थापामगरले प्रयोग गर्ने मोबाईल र सीमकार्ड समेत फेला नपर्दा घटनाको अनुसन्धान जटिल बनेको थियो । प्रहरीले उनले प्रयोग गर्ने मोबाईल नम्बर पत्ता लागेपछि सिमकार्डको आईएमई हिस्ट्रीका आधारमा उक्त सीम प्रयोग भएको मोबाईलको आईएमई पत्ता लगाएको थियो ।
घटनापछि सो मोबाईलमा अरु नै सीमकार्ड प्रयोग भइरहेको खुलेको थियो । मोबाईलमा प्रयोग गरिएका नम्बर धनगढी उपमहानगरपालिका–५ का संजिव चौधरीको नाममा रहेको प्रहरीले पत्ता लगाउँछ ।
खोज तलासका क्रममा संजिव चौधरीको श्रीमतीबाट प्रहरीले मृतक थापामगरको मोबाईल बरामद गरेको थियो तर चौधरी भने धनगढीमा फेला परेका थिएनन् । घटना भएपछि चौधरीमा भागेर भारतमा बस्दै आएको देखिएपछि प्रहरीले उनको श्रीमतीमाथि निगरानी बढाएको थियो ।
शनिबार चौधरीकी श्रीमती पनि भारत गइरहेको सूचनाका आधारमा कैलाली प्रहरीको सादा पोशाखको टोलीले उनलाई पछ्याएको थियो । सोही क्रममा सीमावर्ती भारतीय बजारबाट चौधरीलाई पक्राउ गर्न सफल भएको एसपी बिष्टले बताए ।
चौधरीले दिएको बयानका आधारमा देउवालाई समेत धनगढीबाट पक्राउ गरिएको हो । उनीहरुमाथि अनुसन्धान जारी राखिएको प्रहरीले जनाएको छ ।