मौसम पूर्वानुमान महाशाखाले ७ असोजको दिन साँझ ६ बजे विशेष बुलेटिन जारी गरेर असोज १० गतेदेखि १२ गतेसम्म मनसुन सक्रिय हुन लागेको भन्दै २७ जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको थियो । जोखिम नक्सामा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम र कोशी प्रदेशका दुई जिल्ला (इलाम र पाँचथर) मात्र थिए ।
तर असोज ९ गते फेरि अर्को विशेष बुलेटिन जारी गरेर ५६ जिल्लालाई उच्च जोखिममा र १९ जिल्लालाई मध्यम जोखिमको सूचीमा राखेको थियो ।
त्यसमा सुदूरपश्चिमका डोटी, कैलाली र अछामलाई अति जोखिम हुनसक्ने भनेर रातो रङले अंकित गरिएको थियो । यसैगरी डडेलधुरा, कञ्चनपुर, बझाङ, बाजुरा, दार्चुला, बैतडीलाई गाढा पहेँलो रङले अंकित गरेर मध्यम जोखिमको सूचीमा राखिएको थियो ।
अन्य प्रदेशमा महाशाखाले पूर्वानुमान गरेअनुसार नै वर्षा भएपनि सुदूरपश्चिममा भने भएन । पहिलो दिन कैलालीमा १०१ मिलिमिटर जति मात्रै वर्षा भएको थियो । पूर्वानुमान नमिलेपछि अपडेटेड बुलेटिनमा सुदूरपश्चिमलाई संशोधन गरिएको थियो ।
‘नेपालको विशिष्ट भौगोलिक विशेषताका कारण नेपालमा वर्षा पूर्वानुमान गर्न गाह्रो छ । अध्ययन, मोडेल पर्याप्त छैन, त्यसका बाबजुद यत्तिको पूर्वानुमान मिल्नु राम्रो हो ।’एक मौसमविदले भने ।