अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ९ का स्थानीय आन्दोलित भएका छन् । धनगढी–सेहरी सडक निर्माणमा सुदूरपश्चिम प्रदेश सरकार र गोदावरी नगरपालिकाले बजेट नदिएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । उनीहरुले स्थानीय,प्रदेश र संघीय तीनै तहका जनप्रतिनिधले धनगढी–सेहरी र सेहरी–मजगाउँको बाटोलाई उपेक्षा गरेको बताएका छन् ।
गत असोज ६ गते वडा कार्यालय परिसरमै भेला भएर सङ्घर्ष समिति गठन गर्दै वडा कार्यालय, नगर प्रमुख, इलाका प्रहरी कार्यालय मालाखेती, धनगढी उप महानगरपालिका,सुदूरपश्चिमको भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई ज्ञापन पत्र बुझाएका उनीहरुले एक हप्तासम्म पनि कुनै सुनुवाई नभएपछी हिजो वडा कार्यालयमा ताल्चा लगाएका थिए ।
आज नगरपालिकाको कार्यालय पुगेका स्थानीयहरुले नगर प्रमुख विरेन्द्र भट्टसंग भेट नभएपछी उप प्रमुख शारदा देवी रोकाया,प्रमुख प्रशासकिय अधिकृत हरिदत्त भट्ट,प्रवत्ता गोपालदत्त भट्टसंग सामान्य छलफल गरेका थिए । तर कुनै निष्कर्ष ननिस्किएपछी ताल्चा नखोल्ने भन्दै फर्किएका छन् । उनीहरुले आफुहरुका माग पुरा नभएसम्म वडा कार्यालयमा लगाइएको ताल्चा नखोल्ने र थप सङ्घर्षका कार्यक्रम गर्ने बताएका छन् । दुई दिनभित्र नगर प्रमुख भट्टले वडा नम्बर ९ को कार्यालयमा आएर स्थानीयसंग छलफल अघि नबढाए प्रदेशको भौतिक मन्त्रालयमा जाने उनीहरुको भनाई छ ।
गोदावरी नगरपालिकाले धनगढी–सेहरी–मुर्कटी सडकमा ग्राभेलसमेत नगरेको गुनासो स्थानीयको छ । दैनिक धनगढी आउजाउ गर्नुपर्ने तथा औषधी–उपचारका लागि समेत धनगढी जानुपर्ने भएपनि सडकमा खाल्डैखाल्डा रहेकाले समस्या हुने गरेको स्थानीय नर बहादुर साउँदले बताए । खुटिया नदीबाट करोडौँ रकम राजश्व उठाउने गोदावरी नगरपालिकाले ९ का स्थानीयले प्रयोग गर्ने सडकमा ग्राभेलसमेत नगरिएको उनले बताए । गोदावरी नगरपालिका र सुदूरपश्चिम सरकारले खुटियाबाट नदीजन्य पदार्थ बिक्रीबाट करोडौँ आम्दानी गर्ने गरेको भएपनि वडाका नागरिकलाई उपेक्षा गरिएको स्थानीय पार्वती खत्री बताउँछिन् ।
गोदावरी नगरपालिका–९ का गर्भवती महिला र धनगढी कामको लागि जाने महिलाहरूलाई बढी सास्ती रहेको खत्रीले बताइन । उनीहरुले आफुहरुका माग सुनुवाई नभएसम्म खुटिया नदीबाट नदीजन्य पदार्थ सङ्कलन र ढुवानी गर्न नदिने बताएका छन् । त्यसमा नगरपालिकाले जवरजस्ती गर्न खोजे सिर्जित अवस्थाको जिम्मेवार नगरपालिका नै हुने सङ्घर्ष समितिका सल्लाहकार हेम बहादुर चन्दले बताए । कम क्षमताको सडकमा तेब्बर बढी लोड भएका सवारी चलाउँदा सडकको बेहाल भएको उनको भनाई छ ।
मजगाउँदेखि सेहरी जोड्ने कालोपत्र सडक ओभर लोडका गाडिकै कारण भत्किएको उनले बताए । सेहरीको खुटिया नदीमा रहेको पुल नदीले बगाएको, मुर्कटी–सेहरी–धनगढी सडकमा खाल्डैखाल्डा रहेको स्थानीयको गुनासो छ । नगरपालिका र प्रदेश सरकारको विरुद्धमा एक भएका स्थानीयहरूले नगर प्रमुख भट्टले छलफलका लागि समय नै नदिएको गुनासो गरेका छन् । सेहरीको सडक भन्दै वर्षेनी बजेट आउने भएपनि गेटा क्षेत्रमै सकिने गरेको उनीहरुको गुनासो छ । अब बजेट विनियोजन गरी सेहरीबाटै कालोपत्रे सुरु गर्नुपर्ने उनीहरुको माग छ ।