अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ की मानमती चौधरीलाई वर्षदिन अघिसम्म बाढी बिमाबारे कुनै जानकारी थिएन । न उनले बाढी बिमाबारे कसैले चर्चा गरेको थाहा पाएकी थिइन्, न उनलाई कसैले यसबारे सुनाएका नै थिए ।
गोदावरी—८ की स्थायी बासिन्दा मानमतीको जीवन धान्ने मुख्य आधार नै कृषि हो । उनको परिवार नै कृषिमा आश्रित छ । २०७८ सालको असोजमा मनसुन बाहिरिएपछि आकस्मिक रुपमा आएको भिषण वर्षाले भित्र्याउन ठीक्क भएका धानबाली सखाप पार्यो । अविरल वर्षात्ले खेतमै धान उमारिदियो ।
त्यसपछि नै हो उनले बाढी बिमाबारे थाहा पाएकी ।
गाउँ नजिकै रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी आएर उनलाई बाढी बिमाका बारेमा जानकारी गराएका थिए । घर नजिकै कार्यालय रहेको भरपर्दो सहकारीका कर्मचारी आएर बाढी बिमाबारे जानकारी दिएपछि मानमती बिमा गर्न राजी भइन् । ११ कट्ठामा धान खेती गर्दै आएकी मानमतीले दुई कठ्ठाको मात्र बिमा गरिन् ।
त्यसवापत उनले ५५४ रुपैयाँ बिमा शुल्क सहकारीको खातामा जम्मा गरिन् । यसमा ५० रुपैयाँ दुर्घटना बिमा पनि समावेश थियो । २०८० असार १४ मा खुिटया नदीमा बाढी आयो । मुरी भावरमा रहेको जलमापन केन्द्रले ६ दशमलव ०१ देखि माथि पानी मापन गरेपछि त्यसका आधारमा मानमतीले १८०० रुपैयाँ पाइन् । सुरूको वर्ष २ कट्ठा धान खेतको मात्रै बिमा गरेकी उनले यस वर्ष भने ५ कट्ठा धान खेतको बिमा गरेकी छिन् ।
त्यस्तै सोही वडाकी कमला चौधरीले पनि गतवर्ष दुई कठ्ठा धान खेतीको बाढी बिमा गरेकी थिइन् । यसवर्ष उनले ५ कट्ठाको बिमा गरेकी छिन् । मौसमका कारण खेतीमा केही भईहाले बालबच्चा भोकै नपरून्, केही राहत मिलोस् भनेर बिमा गरेको उनले बताइन् । ‘गतवर्ष दुई कट्ठामा मात्रै बिमा गरेकी थिएँ । कार्यक्रम राम्रो लाग्यो । त्यसैले यस वर्ष पाँच कट्ठा पुर्याएकी छु,’ कमलाले भनिन् ।
वडा नम्बर ८ कै रामबहादुर चौधरीले भने यो वर्ष पहिलोपटक धान खेतीको बाढी बिमागरेका छन् । गतवर्ष गरेकाहरूले राम्रो छ भनेपछि यसवर्ष आफू पनि बिमा गर्न उत्साहित भएको उनले सुनाए । १५ कट्ठामा खेती गर्दै आएका राम बहादुरले ५ कट्ठाको बिमा गरेका छन् । वडा नम्बर ९ का डबल रानाले पनि गतवर्ष दुई कट्ठा धान खेतीको बाढी बिमा गरेका थिए । यो वर्ष उनले नौ कट्ठाको बिमा गरेका छन् ।
करिब तीन बिघा जग्गामा खेती गर्दै आएका रानाले गतवर्ष बाट मात्रै सुरु भएको कार्यक्रम राम्रो लागेपछि गाउँका अरू कृषकलाई पनि आबद्ध हुन आग्रह गरेको बताए । ‘मौसमको भर हुँदैन । कहिले त काटेको धान पनि उम्रिने गरी भिजाउँछ । यस्तो जोखिम कृषकले बेहोरिरहनुपर्ने हुनाले बिमा गरेको हुँ । म त अरूलाई पनि बिमा गर्न भनिरहेको छु,’ उनले भने ।
बाढीका कारण कृषि क्षेत्रमा हुने नोक्सानीलाई मध्यनजर गर्दै खुटिया नदीको बाढीको सतह मापन सूचकाङ्कका आधारमा गतवर्ष देखि धान खेतीमा बाढी बिमा कार्यक्रम लागू गरिएको थियो ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल नेपाल परियाजनाको आर्थिक सहयोगमा शिखर इन्स्योरेन्स कम्पनीले किसानले लगाएको धानबालीको बिमा गर्ने र खुटिया नदीको बाढी मापन केन्द्रको सूचकलाई आधार मान्ने गरी कार्यक्रम तय भएको हो । पाइलट परियोजनाकारुपमा लागू भएको उक्त कार्यक्रमलाई गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सहजीकरण गर्दै आइरहेको छ ।
यस कार्यक्रममा गोदावरी नगरपालिका वडा नम्बर ७,८ र ९ का किसानहरूलाई समेटिएको छ । बाढी बिमा गरेका ८६१ जना किसानले खेतमा बाढी नआए पनि वा क्षति नभए पनि नदीको पानीको सतह मापनका आधारमा बिमा बापतको भुक्तानी पाउँछन् ।
गोदावरीमा २०८० सालमा लागू गरिएको उक्त परियोजना पहिलो पटक खुटिया नदीको बाढी प्रभावित क्षेत्र गोदावरी नगरपालिका वडा ८ र ९ बाट सुरु भएको थियो । यसपाली देखि वडा नम्बर ७ का किसानलाई पनि समेटिएको छ । पानीको मापनका लागि गोदावरी ९ स्थित मुरि भावरमा जल मापनयन्त्र जडान गरिएकोे छ । उक्त तथ्याङ्कलाई आधार मानेर किसानलाई क्षतिपूर्ति दिने गरिएको एकता प्रगतिशिल सहकारीका ऋण सहायक एवम् बाढी बिमा परियोजना फोकल पर्सन लक्ष्मण बोगटीले बताए ।
नदीमा साढे ४ मिटर देखि ५ मिटर पानी मापनभए १० प्रतिशत, ५ दशमलव ०१ देखि साढे ५ मिटर पानी मापन भए २५ प्रतिशत, ५ दशमलव ५१ देखि ६ मिटर मापन भए ६५ प्रतिशत र ६ दशमलव ०१ देखि माथि मापन भए बिमांक रकमको शतप्रतिशत क्षतिपूर्ति भुक्तानी गर्ने मापदण्ड तय गरिएको बोगटीले बताए ।
परियोजना अन्र्तगत किसानको बाढी बिमाको भुक्तानी रकम एकता प्रगतिशील सहकारीमा रहेको खातामा जम्मा हुने र आवश्यक परेका बेला किसानले झिक्न सक्ने उनले बताए । ‘यस परियोजना अन्तर्गत किसानको बाढी बिमाको प्रिमियम एकता प्रगतिशील सहकारीको खातामा जम्मा हुन्छ,’ बोगटीले भने, ‘क्षतिपूर्ति वापतको रकम पनि सोही खातामा उपलब्ध हुन्छ, आवश्यक परेका बेला कृषकले निकाल्न सक्छन् ।’
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा एक कट्ठामा १४४ किलो धान उत्पादन हुने गरेको छ । धानको मूल्य प्रतिकिलो २५ रुपैयाँ तोकिएको छ । सो आधारमा बाली उत्पादन लागत ३ हजार ६०० कायम गरी २५२ रुपैयाँ प्रिमियम(बिमाशुल्क) तोकिएको बोगटीले बताए । बाढी सूचकाङ्कका आधारमा बिमा दाबी भुक्तानी गरिने भएकाले किसानको खातामा क्षतिपूर्ति वापतको रकम ७ देखि १० दिन भित्रमा जम्मा हुने उनकोे भनाइ छ ।
किसानको घरमै दिनजाँदा ७ देखि १० दिनको समयावधिमा नसकिने हुँदा एकता प्रगतिशील सहकारीको शेयर सदस्य भन्दा बाहिरका किसानको पनि सहकारीमा खाता खोलिएको उनले बताए । युएसएआइडीको सहयोगमा प्राक्टिकल एक्सन स्टोन स्टेपले कर्णाली नदीको तटीय क्षेत्रमा लागू गरेको परियोजना सफल भएपछि गोदावरीको खुटिया तटीय क्षेत्रमा २०८० सालदेखि लागू भएको परियोजनामा किसानले प्रिमियमबापत वार्षिक प्रतिकट्ठा २५२ रुपैयाँ तिर्नुपर्छ । यसबाहेक थप २०० तिरेमा किसानको २ लाखसम्मको दुर्घटना बिमा पनि गरिने फोकल पर्सन बोगटीले बताए । २०८० सालमा दुर्घटना बिमाको शुल्क ५० रुपैयाँ रहेपनि यसवर्ष सुविधा पनि थप गर्दै दुर्घटना बिमाको शुल्क २०० पुर्याइएको बोगटीले बताए ।
गतवर्ष तोकिएको समयावधिसम्म आएको बाढीका कारण बिमावापत सो क्षेत्रका २३१ किसानले असार १४ गते आएको बाढीबाट भएको १० प्रतिशत क्षतिपूर्ति वापत १ लाख ५० हजार २४६ रुपैयाँ र साउन २३ गते आएको बाढीको थप १५ प्रतिशत क्षतिपूर्ति वापत २ लाख २५ हजार ३६९ रुपैयाँ गरी २५प्रतिशत क्षतिपूर्तिको ३ लाख ७५ हजार ६१५ रुपैयाँ पाएका थिए ।
बिमित २ सय ३१ घरधुरीका ४१७.३५ कट्ठा क्षेत्रफलमा बाढी बिमा गराएवापत शिखर इन्स्योरेन्स कम्पनीले १ लाख ५ हजार १९५ रुपैयाँ प्रिमियम शुल्क सङ्कलन गरेको थियो । त्यस्तै ११ हजार ५०५ रुपैयाँ दुर्घटना बिमावापत संकलन गरेको थियो । हरेक वर्षको जेठ १५ गतेदेखि लागू हुने उक्त बिमाको अवधि कात्तिक १४ गतेसम्म बहाल रहन्छ ।
किसानको बढदो आकर्षण, तेब्बर बढीले गरे दोस्रो वर्षमै बिमा
बाढी बिमा कार्यक्रममा किसान आकर्षित देखिएका छन् । फोकल पर्सन बोगटीका अनुसार पहिलो वर्ष २३१ जनाले दुई हजार ६२० दशमलव ५५ कट्ठा क्षेत्रफलमा बिमा गरेकामा यस वर्ष त्यो सङ्ख्या बढेर ८६१ पुगेको छ । बिमाको प्रक्रिया सजिलो भएकाले पनि किसान आकर्षित भएको हुनसक्ने बोगटीको बुझाइ छ ।
एकता प्रगतिशील सहकारीकाव् यवस्थापक शेरबहादुर बोगटी यो परियोजनामा किसानलाई सहजीकरण गर्न पाउँदा आफूहरू खुुसी भएको बताउँछन् । परियोजनाबाट सहकारीलाई खासै कुनै लाभ नहुने भए पनि आफ्ना शेयर सदस्यहरूलाई सहजीकरण गर्ने उद्देश्यले आफूहरूले समन्वय गरिरहेको उनले बताए ।
गोदावरी नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामलाल राना बाढी बिमा कार्यक्रमले किसान लाभान्वित भएको बताउँछन् । बाढी सूचकाङ्कका आधारमा मात्र नभइ यस परियोजनाको दायरा विस्तार गर्नुपर्ने उनले बताए । धान भिजेको,रोग लागेको,नफलेकोलगायतका समस्यालाई पनि समेट्न सके कृषकको आकर्षण झन् बढ्ने उनले बताए ।
‘अहिले सञ्चालनमा आएको जुनकार्यक्रम छ त्यो एकदमै राम्रो छ,नत्र हाम्रो यता त आफ्नो कृषिको बिमा गर्नेतर्फ कसैले ध्यान नै दिँदैनन्,’ उनले भने, ‘तर यसलाई अलि विस्तार गर्नुपर्छ । पानी मापन गरेको आधारमा मात्रै क्षतिपूर्ति दिने भन्दा पनि कृषकका अन्य समस्याहरू पनि हेरिदिनुप¥यो ।’
गोदावरी नगरपालिका कृषि शाखा प्रमुख नन्दी मल्ल बाढी प्रभावित क्षेत्रका किसानकालागि बाढी बिमा कार्यक्रमउत्कृष्ट रहेको बताउँछिन् ।
‘खुटिया भनेको बाढी प्रभावित क्षेत्र हो । त्यसैले त्यहाँ यो कार्यक्रम लागू गरेका हौं,’ उनले भनिन्, ‘यो कार्यक्रम अनुसार किसानको खेतमै बाढी आउनुपर्छ भन्ने पनि छैन । नदीको मुहानमै मापनयन्त्र राखीएको छ । त्यसैको आधारमा किसानले क्षतिपूर्ति पाइहाल्छन् ।’
प्रिमियमको २५ प्रतिशत रकमनगरपालिकाले बेहोर्ने
बाढी बिमा अन्तर्गत किसानले तिर्ने प्रिमियमको २५ प्रतिशत रकम नगरपालिका आफैले बेहोर्ने भएको छ । आगामी वर्षदेखि बाढी बिमाका लागि आवश्यक पर्ने प्रिमियमको २५ प्रतिशत रकम नगरपालिकाले बेहोर्ने गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले बताए ।
अमेरिकी सहयोग नियोग युएसएआइडीको तयार नेपाल परियोजनाको अवधि सकिए पनि संस्थाका असलअभ्यासहरूलाई निरन्तरता गर्ने क्रममा उक्त परियोजनालाई पनि नगरपालिकाले अघि बढाउने बताए । उनले किसानले तिर्ने २५ प्रतिशत प्रिमियम नगरपालिकाको तर्फबाट तिर्नेगरी व्यवस्था मिलाउने बताए ।
‘हाम्रो पालिकाका अधिकांश जनताको मुख्य पेशाभ नेकै कृषिहो । त्यसैले कृषिमा आबद्ध व्यक्तिहरूलाई हौसला प्रदान गर्नु हाम्रो दायित्व पनिहो,’ भट्टले भने, ‘त्यसै अनुरूप किसानले भुक्तानी गर्नुपर्ने प्रिमियमको २५ प्रतिशत रकम तिर्ने गरी व्यवस्था मिलाउने प्रयास गर्दैछु ।’
कृषि संवेदनशील पेशा भएको र मौसमका कारण कृषिमा जुनसुकै बेला पनि क्षति हुनसक्ने भएकोले अनिवार्य रूपमा बिमा गर्न पनि उनले किसानहरूलाई आग्रह गरे ।