अत्तरिया – कैलालीमा भूकम्प र सवारी दुर्घटना सम्बन्धि कृतिम अभ्यास गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजना तथा ह्याविट्याट फर ह्युमेनिटि नेपालको सहयोगमा आज गोदावरी नगरपालिकाको तेघरीमा भूकम्प र सवारी दुर्घटना सम्बन्धि कृतिम अभ्यास गरिएको हो ।
नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले विपद्को नमूना प्रस्तुत गरेका हुन् ।
भूकम्प र सडक दुर्घटनाको प्रकोपबाट आयोजित कार्यक्रममा विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी स्वरुप कृत्रिम घटना अभ्यास गरिएको आयोजक जिल्ला प्रशासन कार्यालय कैलाली प्रमुख धर्मेन्द्र कुमार मिश्रले बताएका छन ।
प्रकोप जुनसुकै समयमा पनि आउने भएकाले प्रकोपका घटनाबाट क्षति कम गर्न यस्ता अभ्यासहरु नियमित भएमा समुदाय चनाखो हुने र विपद्पछि पनि सहजीकरण गर्न सकिने अवस्थामा पुग्ने उनले बताए ।
विपद्को समयमा प्रभावकारी रुपमा उद्धार कार्यमा सजिलोका लागि कृत्रिम घटना अभ्यास कार्य सम्पन्न गरिएको हो। विपद् पूर्व तयारी तथा प्रतिकार्यको तालिम पाएका दक्ष जनशक्तिले विपद्को बेलामा गरिने उद्धारको कृत्रिम अभ्यास गरेका हुन्।
नेपालमा बाढी पहिरो, आगलागी, चट्याङ, हावाहुरीजस्ता विभिन्न प्रकोपहरुबाट धनजनको क्षति हुने गरेको छ।