अत्तरिया – असोज कृष्णपक्षको अन्तिम दिन आज आफ्ना दिवङ्गत आफन्तलाई तर्पण दिएर पितृपक्ष विसर्जन गरिँदैछ । बडादशैँ पर्व सुरु हुनुअघि पितृ (दिवङ्गत आफन्त)लाई तर्पण दिँदै असोज कृष्णपक्षभरिको पितृपक्ष आज विसर्जन गर्न लागिएको हो । पितृ विसर्जन गर्न आज धार्मिकस्थल र पवित्र जलासय एकाबिहानै भरिभराउ छन् ।
पितृपक्षमा धार्मिकस्थलमा पितृलाई तर्पण र पिण्ड दिने हिन्दू परम्परा छ । सोहि अनुरुप धार्मिक महत्वका जलाशय र धार्मिकस्थलमा तर्पण तथा पिण्ड दिएर १५ दिने पितृपक्ष विसर्जन गर्न लागिएको हो ।
यस अवसरमा सुदूरपश्चिमकै मुख्य धार्मीक क्षेत्र मानिने गोदावरी धाममा पितृ तर्पण दिनेहरु भरिभराउ हुन्छन् । पितृपक्षमा तीर्थस्थलमा तर्पण र पिण्डदान गरे पितृ तृप्त हुन्छन् भन्ने जनविश्वास छ ।
हिन्दू परम्परामा पितृपक्षभरि पितृहरु स्वर्गलोकबाट विचरण गर्न मत्र्यलोक (पृथ्वी) झर्ने भएकाले आफ्ना सन्तानले यसपक्षमा दिने तर्पण र पिण्ड तत्काल ग्रहण गर्ने विश्वास गरिन्छ । पितृपक्ष विसर्जनसँगै अब बडादशैँ पर्वको चहलपहल सुरु भएको देखिन्छ ।