‘राष्ट्रिय सरसफाइ अभियान’: नेता पाण्डेले गरे स्याउले बजारको शौचालयमा सरसफाइ

Image

अत्तरिया – नेपाली कांग्रेसका युवा नेता लोकराज पाण्डेय (आगो) ले ‘राष्ट्रिय सरसफाइ अभियान’ अन्तरगत आज कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजारको सार्वजनिक शौचालयमा सरसफाइ गरेका छन् ।

पाण्डेले असोज ९ गते जन्मदिनको अवसरमा सार्वजनिक शौचालय सरसफाइ गर्ने उदेश्यले ‘राष्ट्रिय सरसफाइ अभियान’मार्फत पशुपतिनाथ मन्दिरको शौचालयमा सरसफाइ गरेर यस्तो अभियान सुरु गरेका थिए ।

‘सरसफाइ नै मानव सभ्यताको प्रमुख आधार हो भन्ने उद्देश्यले यो अभियान सुरु गरिएको उनले बताए । यस अभियान अन्तरगत प्रत्येक हप्ताको बुधवारको दिनको २ घण्टा सार्वजनिक शौचालय सार्वजनिक विद्यालय, मठ मन्दिरहरूमा जनचेतना फैलाउँदै आफै गएर सार्वजनिक शौचालयहरूको सरसफाइ गर्ने गरेको उनले बताए ।

उनले आफै पढेको विद्यालयसहित केही सामुदायिक विद्यालयहरूमा जाँदा त्यहाँ रहेका शौचालयहरू फोहर भएको देखेपछि यो अभियान सुरु गर्ने योजना बनाएको बताए । यसअघि अत्तरियाको बसपार्क,बजारक्षेत्र लगायतका शौचालय सरसफाइ गरिसकेका उनी शौचालयमा प्रयोग गरिने फिनाइल, ब्रस, बाल्टिन, डस्टविन लगायतका सामग्रीसहित स्याउले पुगेका थिए ।

उनले हप्ताको बुधवार आफु जुनै ठाउँमा पुगेको भए पनि त्यहाँ नै सरसफाइ गर्ने बताए । सार्वजनिक शौचालयलयको अवस्था र सरसफाइको विषयलाई सरकारले पनि महत्वका साथ हेर्नुपर्ने उनको भनाई छ ।

आजको सरसरफाइ कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गोविन्द चौधरी,स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष गोपाल देउवासहित व्यवसायी तथा स्थानीयको सहभागिता रहेको थियो । कार्यक्रममा आफ्नो भनाई राख्दै वडा अध्यक्ष चौधरीले पाण्डेको उत्त अभियानले स्थानीय सरकारलाई पनि झस्काएको बताए ।