
अत्तरिया – देशमा रोजगार नपाएको भन्दै विदेशिनेको लर्कोले बेलाबेलामा समाजमा बहस सिर्जना गर्छ । तर कतिपय व्यक्तिहरु यस्ता पनि छन् जस्ले देशमै आफै रोजगारी सिर्जना गरेर यहाँपनि केहि गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । तिनै मध्यकी एक हुन् धनगढीकी प्रमिला राना । धनगढी उपमहानगरपालिका वडा नम्बर ८ की स्थाइ बासिन्दा प्रमिला विगत तीन वर्षदेखी निरन्तर रुपमा विद्युतिय अटो चलाउँदै आएकी छिन् ।
त्यो भन्दा पहिले कहिलेकाँहि विभिन्न ठाउँ पुगेर कार्यक्रमहरुमा नृत्य गर्दै आएकी प्रमिला केहि समय कामको शिलशिलामा भारत पनि पुगीन् तर त्यहाँपनि सहज देखिनन् । पारीवारिक समस्याले उनी तुरुन्तै फर्किनुपर्यो । ‘फर्किएर के गर्ने भन्दा भन्दै घर परवारले पनि अटो चलाउ भन्नुभयो,अनि सुरु गरे’ उनले भनिन् । घर परिवारले नै अन्य काम भन्दा अटो चलाउँदा राम्रो हुन्छ भनेपछी आफु यो पेशामा लागेको उनले बताईन् । पहिचानले प्रमिला तेस्रोलिङ्गि महिला हुन् । अटो चलाउँदा उनी मास्क लगाउछिन् ।

धेरैले उनलाई छुट्याउन सक्दैनन् तर कसैकसैले भने सोधीहाल्छन् । ‘म अरुभन्दा भिन्दै देखिने भएर होला ।कसैले त मतलव गर्दैनन् तर कसै कसैले त भनिहाल्छन् ,फलानु ठाँउ जाने हो?अंकल हो की आन्टी हो?भन्छन्,मलाई सामान्य लाग्छ’ उनले भनिन्। घर परिवारले उनको लैङ्गिक पहिचान सहर्षै स्वीकार गरेका कारण प्रमिलालाई सहज भएको छ । परिवारले उनलाई छोराको रुपमा हेर्छन तर छोरीको पहिरनमा हिँड्दा पनि सहज स्वीकार गर्छन । बिहान ८/९ बजे खाना खाएर घरबाट निस्किने उनी अटो चलाएर दैनिक पन्ध्र सय सम्म कमाइ हुने बताउँछिन् । चाडपर्वको बेलामा अझै बढी आम्दानी हुने प्रमिलाले बताईन् ।
‘बिहानको खाना खाएर ९ बजेतिर निस्किन्छु बेलुका ७/८ बजे घर पुग्छु,कहिले यात्रु पाए त्यो भन्दा ढिला पनि हुन्छ,’ धनगढी वरपरका विभिन्न ठाउँहरुमा अटो चलाउँदै आएकी उनले भनिन् । सहकारीबाट चार लाख रिण लिएर अटो किनेकी प्रमिला हरेक महिना सहकारीको किस्ता पनि अटोकै कमाईबाट तिर्छिन । ‘सुरुमा मैले पुरानो अटो किने,केहि समयपछी त्यो बेचिदिए। रिण लिएर नयाँ अटो किने,अहिले घरखर्च र किस्तापनि अटोबाटै कमाएको पैसाले तिर्ने गरेकि छु’ प्रमिलाले भनिन् ।
धनगढीको मुख्य बजार क्षेत्रको सडकको अवस्था नाजुक भएकोले अटो धेरै बिग्रीने हुँदा अटो मर्मतमा बढी पैसा खर्च हुने गरेको प्रमिलाको दुखेसो छ । आफ्नो सहजता अनुसार काम गर्न मिल्ने हुँदा अन्य कामभन्दा अटो चलाउन सजीलो लागेको उनले बताईन् । ‘अब अरु केहि गर्नेबारे सोचेको छैन,अरु केहि त्यस्तो सिप पनि आफुसंग छैन,आफुले चाहेको समय अनुसार काम गर्न पाइन्छ,सजिलो छ,यहि पेशा अपनाउछु।’ उनले भनिन् ।