कैलाली – सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह सरकारले एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले सरकारले एक सय दिनमा गरेको फिरिस्त प्रस्तुत गरेका हुन् ।
‘सय दिनको यो अवधि शासकीय दृष्टिले राजनीतिक, प्रशासनिक र आर्थिक पक्षमा उपलब्धिमूलक रह्यो। तोकिएको समयभित्रै बजेट आउन नसकेको यस अवधिको सुरुवाती समयमा राजनीतिक, प्रशासनिक र आर्थिक विषयमा सहमति जुटाउने, प्रदेश सभाको विश्वास लिई राजनीतिक स्थायित्व र सुशासनको प्रत्याभूति दिने गरी विकास प्रयास र सेवा प्रवाहको बलियो जग बसाउने पथ तय गर्ने आधारभूत कार्य पूरा भएको छ’, उनले भने, ‘राजनीतिक रूपमा यो सरकारले स्थायित्व हासिल गरेको छ ।’ एक सय दिनको अवधि शासकीय दृष्टिले राजनीतिक, आर्थिक र प्रशासनिक पक्षमा उपलब्धिमूलक रहेको मुख्यमन्त्री शाहले दाबी गरेका थिए ।
यस अवधिमा प्रदेश सरकारले प्रदेशभित्र वित्तीय पारदर्शिता, सुशासन प्रवर्द्धन, भ्रष्टाचार न्यूनीकरण तथा समग्र सेवा प्रवाह, विकास निर्माण र राजस्व संकलन लगायत नागरिक सरोकारका विविध पक्षहरूमा केन्द्रित रही काम गरेको उनले बताए ।
शाह नेतृत्वको सुदूरपश्चिम सरकार गठन भए यता बजेट सार्वजनिक गरिएको, विभिन्न नीति, ऐन, विधेयक तथा नियमावलीहरू निर्माण भइरहेको, सुशासनमा जोड दिइएको जस्ता विषय उल्लेख छन् ।
१०० औं दिने उपलब्धिमा टीकापुरमा स्थापना हुने टीकापुर विज्ञान तथा प्रविधि विश्वविद्यालय सम्बन्धी विधेयकको मस्यौदा निर्माण कार्य भइरहेको उल्लेख छ । समग्र क्षेत्रको पर्यटकीय विकासका लागि प्रदेश पर्यटन बोर्ड गठनको तयारी भइरहेको मुख्यमन्त्री शाहले जानकारी दिए ।
प्रदेश मातहतका सेती, महाकाली र टीकापुर प्रादेशिक अस्पतालमा ज्येष्ठ नागरिक, एकल महिला र क वर्गका अपाङ्गता भएका नागरिकलाई निःशुल्क परीक्षण र औषधी व्यवस्थापनको सुरुवात गरिएको उपलब्धिमा उल्लेख छ ।
प्रदेश सरकारको बजेटमै समेटिएको प्रदेशभरका बिरामीका लागि निःशुल्क रगत उपलब्ध गराउने कार्य समेत सुरु गरिएको, प्रदेश सरकारले एमबिबिएस अध्ययनरत डाक्टरका लागि छात्रवृत्ति उपलब्ध गराई रहेको र यस वर्षको छात्रवृत्ति छनौट अन्तिम चरणमा पुगेको उल्लेख छ ।
उपलब्धिमा सेती अस्पतालमा क्यान्सर रोगको उपचार सेवा सुरु गरिएको, जलन कक्ष सञ्चालन गरिएको, निःसन्तानपन र बाँझोपनको उपचार तथा अटिज्म क्लिनिक सेवा सञ्चालन गरिएको उल्लेख छ ।
सार्वजनिक गरिएका उपलब्धिमा चालु आर्थिक वर्षको ३१ अर्ब ६२ करोड९८ लाख २८ हजार रकम मध्ये ८ प्रतिशत रकम खर्च भएको, चालु खर्चतर्फ ११ र पुँजीगत तर्फ ५.९७ प्रतिशत रकम खर्च गरिएको उल्लेख छ ।
त्यस्तै, प्रदेश सरकारको आन्तरिक राजश्व १ अर्ब ६० करोड ७० लाख १५ हजार परिचालन हुने अनुमान गरिएकोमा हालसम्म ३८ करोड ४५ लाख ३० हजार अर्थात् २३.९३ प्रतिशत राजश्व संकलन भएको उल्लेख छ ।
सरकारले भौतिक पूर्वाधारतर्फ एक सय दिनमा १८.५ किलोमिटर सडक कालोपत्रे, २७ किलोमिटर सडक ग्राभेल गरेको छ । यसैगरी, दुई वटा पक्की पुल निर्माण, १६ हजार फिट झोलुङ्गे पुल निर्माणका लागि लट्ठा खरिद, आठ वटा खानेपानी योजना र दुई वटा कभर्ड हल निर्माणको कार्य सम्पन्न गरिएको छ ।
आफूले सोचेको र कल्पना गरेको कुराहरू ७० प्रतिशतमात्रै पूरा भएमा त्यो धेरै उपलब्धि हुने मुख्यमन्त्री शाहले बताए । तोकिएको स्थानमा प्रदेश राजधानी कार्यान्वयन नभएमा त्यसको विकल्प खोज्न ढिला गर्न नहुने उनको भनाइ थियो ।
‘अहिलेसम्म गोदावरीमा राजधानी निर्माणका लागि भएका सबै प्रक्रियाको विषयमा प्रधानमन्त्रीज्यूलाई लिखित रूपमा जानकारी गराइएको छ,’ उनले भने, ‘गोदावरीको जग्गा उपलब्ध हुँदैन भने विकल्प खोज्छौँ भनेर पनि भनिसकेका छौँ । अबको हिउँदे अधिवेशनले राजधानीको विषय टुङ्गो लगाउँछ ।’