कञ्चनपुर – गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडि बढ्नु पर्ने बताएका छन् ।
बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानीय सरकारको महत्वपूर्ण भूमिका हुने बताए ।
उनले भने, ‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झण्डा लिएर जान्छौ । चुनाव तिजतिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडि बढ्नुपर्छ ।
अहिलेको शासन व्यवस्थालाई हामीले सुदृढ गर्दै लग्नुपर्छ यसैमा जनताको विश्वास र भरोसा जगाउनु पर्छ, त्यसका लागि पनि स्थानीय सरकारको सबैभन्दा भूमिका महत्वपूर्ण छ ।’
उनले सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुपर्ने भन्दै देशमा विधिको शासन कायम गर्न सरकार पूर्ण रूपले लागि परेको बताए ।
उनले जनजीविकाको सवाल र मुलुकमा आर्थिक उन्नती गर्ने सवालमा सरकार क्रियाशील भएर लागेको पनि बताए । उनले भने, ‘एकै महिनामा परिणाम आउँदैन सरकारले गरेका कामको परिणाम आउन समय लाग्छ । हामी अत्यन्तै मेहनतका साथ काम गरिराखेका छौँ ।’