पुराना दललाई विस्थापित नगरेसम्म देश अगाडि बढ्दैन : राप्रपा अध्यक्ष लिङ्देन

Image

अत्तरिया – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पुराना दललाई विस्थापित नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताएका छन् । कार्यक्रमको शिलशिलामा कार्यकर्ता भेटघाटमा कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउले बजार पुगेका लिङ्देनले यो देशलाई बरबाद बनाउन बराबर सहभागि भएका ठुला,पुराना दललाई विस्थापित नगरेसम्म देश अगाडि बढ्न नसक्ने बताएका हुन् ।

उनले भने,“हामीले हाम्रो मन परिवर्तन नगरिकन र यो देशलाई बरबाद बनाउन बराबर सहभागि भएका यी पुराना हौँ,ठुला हौँ भन्ने दललाई विस्थापित नगरिकन अब देश अगाडि नबढ्ने परिस्थिति आएको हुनाले हामीले आम जनतालाई जगाउँदै, राप्रपा नयाँ अठोट र संकल्पकासाथ आएको छ भन्ने अनुरोध गर्दै हामी अभियान सञ्चालन गरेर हिँडेका छौँ ।”

लिङ्देनले देश विशिष्ट परिस्थितिबाट गुज्रिरहेको बताउँदै अहिलेको तरिकाबाट देश अगाडि बढ्न सक्ने अवस्थामा नरहेको बताए । राजा ज्ञानेन्द्रको १८ महिनाको प्रत्यक्ष शासनपछी कांग्रेस,एमाले र माओवादीले २०४६ सालदेखी देश चलाईरहेको भन्दै उनले ३५ वर्षको अवधीमा दुनीयाका अन्य देशहरु सम्वृद्ध बनिसकेको बताए ।

नेपालीको अवस्था भने आजपनि युवाहरु,कालापहाड,दिल्ली,पंजाव,गुजरात र साउदी कतार नगए दसैँ,तिहार मनाउने अवस्था समेत नरहेको उनले बताए । सधैँभरी युवाहरु बेचेर देश नचल्ने भन्दै उनले देशभित्रै रोजगारी सिर्जना गरि विश्वका अन्य देशजस्तै हाम्रो देशलाई पनि सम्वृद्ध बनाउन नयाँ अठोट र संकल्प गरेर राप्रपा अघि बढेको बताएका छन् । लिङ्देन पार्टी प्रवत्ता ज्ञानेन्द्र शाहीसहित शुक्रबार बिहान स्याउले पुगेका हुन् ।