अत्तरिया – मध्यान्न १२ बजेको समयमा भजनी नगरपालिका वडा नम्बर १ स्थीत मधुवन पुरानो शिविरतिरका घरघरमा एक वृद्धा माग्दै हिँडेकी थिईन् । एक काँधमा झोला भिरेकी उनले हातमा त्रिशुल बोकेकी थिईन् । कपाल फुलेकी ती वृद्धाको कुनै खास नाम,थर र ठेगाना छैन । दुखै पाएको देखेकाले भजनीको कुँडी बासीले उनको नाम नै दुखीराम राखिदिएका छन् । उमेर कति भयो त्यो पनि उनलाई थाहा छैन । भजनी नगरपालिका वडा नम्बर १ काँढाका नारायण चौधरी दुखिरामलाई ६०/६५ त कट्यो होला भन्ने अनुमान गर्छन् ।
दुखीराम आफैलाई कहाँ,कस्तो अवस्थामा जन्मे,हुर्के,आफ्नो आमाबुवा को हुन्,कहाँ छन् केहि थाहा छैन । आफ्नो बाल्यकालमा बुटवल, दाङका सडकमा माग्दै हिँडेको,सडकमै सुतेको,सडकमै खाएको भने उनलाई सम्झना छ । कहिले जंगल,कहिले ओडारमा जिवनका कैयौँ रात बिताएकी छिन् उनले । सडककै बासकोक्रममा एक गुरुसंग भेट भयो उनको । गुरुसंगै भक्तिभावले कहिले जंगल,कहिले गाउँ चहारिन । तिनै गुरुले हुन् उनलाई त्रिशुल दिएका पनि । आफ्नो शक्तिस्वरुप त्यहि त्रिशुल बोकेर हिँड्ने दुखीरामलाई खानपान पनि चोखो चाहिन्छ । सडकको यहि यात्राकोक्रममा झण्डै २३ वर्षअघि उनी कैलाली आइपुगिन् ।
त्यसयता निरन्तर कैलालीको भजनी नगरपालिकाकै सेरोफेरोमा छिन् । दर्जनौ दशक सडकमै बिताएकी उनी ३ वर्षयता कैलालीको भजनी नगरपालिका वडा नम्बर १ को कुँडी शिविरमा बस्दै आएकी थिईन् । आफ्नो टहरो लिपपोत गरेर चिटिक्क पारेकी थिईन् । गत असारमा नगरपालिकाले त्यो शिविर डोजर लगाएर भत्काएपछी दुखीराम फेरी सडकको बासमै पुगिन् । दुखीरामले बडो दुखले आर्जेका धान राख्ने ड्रम,पानी भर्ने बाल्टी थिए टहरोमा,नगरको डोजरले ती सामान लतारिरहेको थियो,उनलाई आफ्नो मुटुमै डोजर लागेजस्तो भइरहेको थियो ।
“माथीबाट पानी वर्षीरहेको थियो,मेरो टहरो त फालिहाल्यो,धान राख्ने ड्रम र पानी भर्ने बाल्टी कति दुख गरेर किनेको थिए,डोजरले कता कता पुर्यायो पुर्यायो” उनले भनिन् । त्यसयता उनी एक स्थानीयको गोठमा शरण लिएर बसेकी छिन् । झमझम वर्षामा रुखको फेदमुनी बसेको देखेर “छिटै आफ्नो व्यवस्था गर्नु” भनेर ति स्थानीयले उनलाई गोठमा बास दिएका हुन् । ६ महिना बित्यो उनी निर्विकल्प छिन् । उनी बुढी भएकैले पनि गोठमै बास दिन पनि कोहि मान्दैनन् । “हाम्रोमा मरिस भने हामीलाई गाल आउँछ,भोलिका दिनमा सन्ततीलाई समेत गाह्रो हुन्छ भन्छन्” दुखीरामले दुख पोखिन् ।
उनी तेस्रोलिङ्गि महिला हुन् । ‘म त महिला नै हुँ जस्तो लाग्छ, दाह्रिजुंगा खै किन आएको हो?’उनले भनिन् । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकहितमा काम गर्दै आएको सुदूरपश्चिम समाजकी अध्यक्ष करुणा नेपाल उनी तेस्रोलिङ्गि महिला भएको बताउँछिन् । दाह्रिजुंगा भएकोले पुरुष सम्झेर गाउँलेले पुरुष जनाउने नाम राखिदिएका थिए ।
अचेल भने उनलाई कसैले गुरुबहिनि त कसैले मेडम भनेर बोलाउँछन् । नागरिकता नहुँदा उनले देशभित्रै अनागरिक बस्नुपरेको नेपालले बताईन् । “आफन्त त कोहि थिएनन्,नागरिकता समेत नहुँदा दुखिरामले देशभित्रै अनागरिक भएर बस्नु परेको छ”,नेपालले भनिन् । दुखीरामले डोको बुन्ने,डोरीका खटिया बनाउने सिप सिकेकी छिन्,त्यसैले गुजारा गर्ने गरेकी थिईन् तर अचेल बुढी भईन्,शरिरले साथ दिँदैन ।
त्यसैमाथी कुँडी शिविरमा बस्नेक्रममा लागूऔषध सेवन गरेर जवरजस्ती गर्न खोजेका एक हुल युवाहरुले रुखमा बाँधेर कुटपिट गरेदेखि उनको शरिर हायलकायल भएको छ । सहयोगको याचना गर्दै कुनै सरकारी निकायमा जान पनि दुखीरामसंग न कोहि आफन्त नै छन्,न केहि कागजात । विश्वभर फैलिएको कोरोना महामारीको समयमा समेत नागरिकता लगायतका कागजात नभएकै कारण उनी राहतबाट पनि बन्चित भईन् । नागरिकता चाहिने रहेछ भन्ने पनि उनले त्यतिबेलै हुन बुझेकी । उनले राम्रोसंग नेपाली भाषा बोल्न र बुझ्न पनि सक्दिनन् ।
“तलमाथी,दायाँबायाँ मेरो कोहि छैन,मागेर गुजारा चलाउने गरेकी थिए ,अचेल त माग्न जान पनि सक्दिन”उनले भनिन् । दुखिरामको नागरिकताका लागि धेरै पटक प्रयास गर्दा पनि सफल नभएकोे सुदूरपश्चिम समाजकी अध्यक्ष नेपालले बताईन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले नेपालीले नागरिकता नपाउने विषय कल्पना नै गर्न नसकिने बताए । “कुनै व्यक्ति नेपाली हो भने नेपालीले नागरिकता नपाउने भन्ने कल्पना नै गर्न सकिँदैन उनले भने,एकपटक कार्यालयमा सम्बन्धित व्यक्ति आउनु भयो भने के रहेछ बुझौँला ।”