अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत जोनापुरकी सिता चौधरी दुईपटक गाउँको भलमन्सा बनिन् । थारू गाउँको नेतृत्व गर्ने बडघर सधैं पुरुष हुँदै आएका थिए तर २०७२ माघमा गोदावरी नगरपालिकामै पहिलोपटक सिता जोनापुरको भलमन्सा महिला बनेकी हुन् । पहिलो पटक २०७२ माघदेखी देखी २०७४ माघसम्म भलमन्साको जिम्मेवारी सम्हालेकी सिता दोस्रो पटक २०७९ मा पनि भलमन्सा बनिन् । दोस्रोपटक भने जोनापुरमा चुनाव नै भयो । चुनावमा सिता विजयी भईन् ।
थारु गाउँमा महिला भलमन्सा हुँदा स्थानीय महिलाले आफ्ना समस्या राख्न सहज महसुस गर्ने गरेको उनको अनुभव छ । “थारु गाउँमा समुदायमा कसैलाई पनि समस्या पर्दा पहिले भन्ने भलमन्सालाई नै हो,महिला भलमन्सा हुँदा विशेष गरि महिलाहरु आफ्ना समस्या राख्न सहज महसुस गर्छन्” उनले भनिन् । झै–झगडा लगायत घरेलु हिंसाका घटनामा बढीजसो महिला नै पिडित हुने भएकोले भलमन्सा महिला हुँदा आफ्ना समस्या राख्न महिलाले अझै सहज महसुुुस गर्ने गरेको उनको अनुभव छ ।
आफ्नो कार्यकालमा मुद्दा टुंग्याउन गाउँका महिला र वडा कार्यालयका मेलमिलापकर्ताले पनि सघाएको सिताले पनि बताईन् । “कतिपय घटनाहरु गाउँमै मिलाइन्छ,यदि अन्य निकायमा पठाउनु पर्ने भएमा म त्यहि अनुसार सिफारिस गर्थे उनले भनिन् ।” अहिले पनि गाउँमा कुनै मुद्दा मामिला भएमा महिलाहरु विश्वास गरेर आफुकहाँ आउने गरेको उनी बताउँछिन् ।
आफु भलमन्सा हुँदा मात्रै नभई अहिले पनि विवाह समारोह,सिँचाइ कुलो,खेतीपाती,बाटोघाटो निर्माण,चाडपर्व मनाउने लगायत गाउँका हरेक मुद्दा मामिला मेलमलिापमा अहिले पनि सहभागी हुँदै आएको उनले बताईन् । भलमन्सा बनेर दुईपटक गाउँको नेतृत्व गर्दा कहिलेकाँहि भने महिला भएकै कारण समस्या झेल्नु परेको सिताको अनुभव छ ।
“कहिलेकाँहि महिला त हो भन्ने जस्तो गरेर पुरुषहरुले नटेर्ने,मलामी जाँदा भलमन्सा खोइ?भनेर जिस्काउने गर्थे उनले भनिन्,मैले त अन्यथा नलिने भए म जान्छु,मलाई कुनै समस्या छैन भन्ने गर्थे” सिताले भनिन् । जिम्मेवारी लिईसकेपछी निभाउन पुर्णरुपमा तयार हुनुपर्ने उनी बताउँछिन् । पछिल्लो समय भलमन्सा महिलाको सङ्ख्या बढ्दै गएकोमा सिता खुसी व्यक्त गर्छिन् । “गाउँको नेतृत्व पुरुषले मात्रै गर्नुपर्छ भन्ने सोच अब परिवर्तन भएको छ,पछिल्लो समय भलमन्सा महिलाहरुको सङ्ख्या पनि थुप्रै छ । यो देखेर खुसी लाग्छ ।” उनले भनिन् ।