अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ मा रहेको सुर्योदय सामुदायिक वनको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । स्याउले बजारमा रहेको संस्थाकै प्राङ्गणमा शनीबार वनको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
संस्थाकी उपाध्यक्ष निर्मला दमाईको सभाध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ८ का वडा अध्यक्ष गोबिन्द चौधरी प्रमुख अतिथि रहेका थिए भने गोदावरी सब डिभिजन वन कार्यालय अत्तरियाका प्रमुख निरन्जन कडाल विशिष्ट अतिथि रहेका थिए ।
कार्यक्रममा बोल्दै कडालले वन स्थानीयकै सम्पत्ति भएकोले संरक्षण गर्नुपर्ने बताए । पछिल्लो समय संघ संस्थाका नाममा अतिक्रमण बढेको भन्दै नेपाल सरकारबाट भोगाधिकार लिएर मात्रै भोगचलन गर्न पाईने बताए ।
त्यस्तै वडा अध्यक्ष चौधरीले वन संरक्षणमा सामुदायिक वन समितिसंगै स्थानीयको भूमिका महत्वपूर्ण रहेको बताए । उनले वन हामी सबैको साझा सम्पत्ति भएकोले चोरी,निकासी तथा अतिक्रमण गर्न नहुने बताए ।
संस्थाका लेखा समिति सदस्य एवम् साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष केशवराज विनाडीले उपभोक्ता एकजुट नभए समितिले मात्रै वन संरक्षण गर्छु भन्दा सम्भव नहुने बताए ।
उनले वन जंगल विना मानव जीवन नै कल्पना गर्न नसकिने बताउँदै सुर्योदय सामुदायिक वन संरक्षणमा यस्का उपभोत्ताले महत्वपूण योगदान गरिरहेको बताए ।
कार्यक्रममा संस्थाका सह सचिव चेतराज ओझाले गत आर्थिक वर्षको आय–व्यय,चालु आर्थिक वर्षको अनुमानित आय–व्यय,कार्ययोजनाहरु पेश गरेका थिए भने लेखा समिति सदस्य शेर बहादुर अधिकारीले लेखा प्रतिवेदन पेश गरेका थिए ।
साधारण सभामा विभिन्न संघ संस्थाका प्रतिनिधिसहित उपभोक्ताहरुको उपस्थिति रहेको थियो । सुर्योदय सामुदायिक वनमा हाल करिब एक हजार उपभोत्ता रहेका छन् ।