धनगढी – कैलालीको भजनी नगरपालिकामा एक महिलालाई बोक्सीको आरोपमा मरणासन्न हुने गरी कुटपिट गरिएको घटना बाहिरिएको छ ।
गाउँलेहरूको एक समूहले पुस ४ गते दिउँसो ३ बजे नै ३० वर्षीय महिलालाई घरबाट तान्दै घिसारेर लगेर मरणासन्न हुने गरी कुटपिट गरेको घटना बाहिरिएको हो ।
कुटपिटबाट अचेत भएपछि उनलाई त्यही दिन बेलुका ५ बजे आफन्तले भजनी नगरपालिकाको स्वास्थ्य केन्द्रमा लगेका थिए । त्यहाँ उपचार हुन नसकेपछि उनलाई धनगढी रिफर गरियो ।
अहिले उनको धनगढीस्थित नवजीवन अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा उपचार भइरहेको छ । उनको होस आए पनि मानसिक रूपमा विक्षिप्त बनेकी छन् ।
पीडित महिलाका पाँच र दुई वर्षका दुई छोरा छन् । उनका श्रीमान् रोजगारीका लागि भारतमा छन् ।
कुटपिटमा संलग्न ६ जना विरुद्ध पीडितका परिवारजनले प्रहरीमा किटानी जाहेरी दिएका छन् । उनीहरूमध्ये चार जनालाई पक्राउ गरिए पनि दुई जनालाई अझै नियन्त्रणमा लिइएको छैन ।
इलाका प्रहरी कार्यालय भजनीका प्रमुख तथा प्रहरी निरीक्षक युवन चौधरीका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा लाहनु चौधरी, मनोज चौधरी, रूपा चौधरी र बाबुराम चौधरी पक्राउ परेका छन् ।
किटानी जाहेरी परेका जयराम चौधरी र करन चौधरीलाई अझै पक्राउ नगरिएको हो । घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी निरीक्षक चौधरीको भनाइ छ ।
बोक्सीको आरोप ९कसूर र सजाय ऐन० २०७२ को दफा ११ को उपदफा ९ङ०मा पाँचदेखि आठ वर्षसम्म कैद र ५० हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ ।