कैलाली – पैतृक सम्पत्तिमा छोरीले बराबर अंश पाउने कानुनी व्यवस्था लागुभएको ८ वर्ष पुग्यो। अविवाहित छोरीलेमात्र अंश पाउने कानुनी व्यवस्था संसोधन भएर विवाहित छोरीले पनि अंश पाउने व्यवस्था लागुभएको २०७२ सालमा हो। नेपालको संविधानमा समेत पैतृक सम्पत्तिमा सन्तानको समान हक हुने उल्लेख छ।
तर समाजमा भने छोरीलाई बावुआमाको सम्पत्तिको समान अंसियार मान्न अहिले पनि तयार देखिन्न।
महिलाहरू आफै पनि अन्तिम विकल्पमा मात्र अंश दावी गर्न जान्छन्। पैतृक सम्पत्ति दाबी गर्ने महिलालाई समाज र परिवारबाटै अनेक चुनौति र हेपाहा व्यवहार खेप्नुपर्ने हुन्छ।
कैलालीकी एबी (परिवर्तित नाम) आफूले पैतृक सम्पत्तिमा दाबि गरेको कुरा खुलेर भन्न अझैपनि सकिरहेकी छैनन्। हामीसँगको कुराकानीमा समेत उनले आफ्नो परिचय गोप्य राखिदिन अनुरोध गरिन्।
उनका दाजुभाइ छैनन्। त्यसैले आफ्ना बुवाआमाको सम्पत्ति ठूलोबुवा र काकाहरूलाई भाग लाग्छ भन्ने कुरा सुन्दै उनी हुर्किइन्। आफू र दिदीबहिनीको विहेपछि बुढा भएका आमाबुवाको हेरचाह पनि उनीहरूले नै गर्ने हो भन्ने दिदीबहीनीको बुझाइ थियो। तर त्यसो भएन। आमाबुवा बिरामी हुँदासमेत दाजुभाइले सहयोग गरेनन्। आमाबुवाको स्याहार, खेतिपातिको रेखदेख गर्न उनीहरू पालैपालो माइतीमा आउँथे।
केही वर्षअघि एबीका बुवाको मृत्यु भयो। आमा एक्लै भइन्। उनको सुरक्षा रेखदेख गर्ने कोही भएन। बुवाको नामको चार बिगाह जति घरखेत थियो। सम्पत्ति के गर्ने भन्ने कुरा चल्दा भने ठूलाबुवा/ काकाहरू दाबी गर्न थाले। एबीका दिदीबहिनीलाई बुवाको नामको सम्पत्तिमा आफ्नो हक लाग्छ भन्ने थाहै थिएन।
आमाबुवाको हेरचाह नगर्ने दाजुभाइहरू अंशदाबी गर्न आएपछि भने उनीहरूको चित्त दुख्यो।
यस्तैमा एकदिन उनलाई एकजना सामाजिक अभियान्ताले सुनाए – आमाबाको सम्पत्तिमा तिमी दिदीबहिनीकै हक लाग्छ।
त्यसपछि भने एबी र उनका दिदीबहिनीले आमालाई पाल्ने र बावुको नामको सम्पत्ति आफैले लिने निर्णयमा पुगे। कानुन बुझ्दा पनि आफूहरू बलियो भएको थाहा पाए। अनि गाउँसमाज डाकेर निर्णय सुनाए।
कानुनीरुपमा जाँदा छोरीहरुले नै अंश पाउने निश्चित भएको थाहा पाएपछि गाउँलेले पनि उनका ठूलाबाकाकाहरूलाई ‘एबीका बुवाको सम्पत्ति दाबी गरेर झन्झट नगर्न’ सम्झाए। त्यसपछि दाजुभाइ पछि हटे।
अन्ततः एबी, उनका दिदीबहिनी र आमाको नाममा अंशबण्डा भयो। अझैपनि बाआमाको किरिया खर्च भनेर नजिकका ती दाजुभाइलाई केही जग्गा छुट्याइदिए।
‘आफ्ना आमाबाको सम्पत्तिमा हाम्रै हक लाग्ने कुरा हामीलाई थाहै थिएन। बुढा बाआमाको स्याहार आफैले गर्यौँ। त्यसपछि अब के गर्ने भन्दा अन्तिममा पो हाम्रो अधिकार हुने थाहा पायौँ,’ एबीले भनिन्, ‘अहिले पनि दाजुभाइहरू आमा र हाम्रो वास्ता गर्दैनन्। हामीलाई सम्पत्ति लिएको भनेर हेला गर्छन्। अझैपनि डरैडर छ।’
कैलालीकै बिसी (परिवर्तित नाम) लाई स्कुल पढ्न असाध्यै रहर थियो। तर दाजुले भने तिमीले पढ्नु पर्दैन भन्थे। बुवाको मृत्यु भइसकेको हुँदा समाजको चलन अनुसार घरको मूली दाजु नै भए। आमा पनि समाजअनुसारै चल्नुपर्थ्यो। बीसीले कक्षा ५ मा पढ्दै गर्दा स्कुल छोडेनुपर्यो। तर पढ्ने रहरले छोडेन। घण्टाको हिसाबले मजदुरी गरेर उनी दुई वर्षपछि फेरि ५ कक्षामा भर्ना भइन्।
उनले १५ वर्षअघि एसएलसी पास गरिन्। गाउँमा एसएलसी पास गर्ने पहिलो छोरी थिइन्। गाउँलेसमेत खुसी भए। उनका दाजु पनि खुसी भए। अब त अघि पढ्न दाजुले सघाउलान् भन्ने सोचेकी थिइन्। जब कलेज जाने कुरा गरिन् तब दाजु फेरि रिसाए। तै पनि उनी रोकिइनन्। स्नातक तहसम्म पढ्न बीसीले कहिले मजदुरी त कहिले संस्थाको जागिर गरिन्। उनले घरबाट काठमाडौँ गएर काम गर्दै पढ्दै थिइन्। घर जाँदा दाजुले अनेक बचन लगाउँथे।
एकदिन दाजुले भने- पढेर केके न गर्छु भन्थिस्,फेरि आएर मेरै घरमा बसेकी छेस्। यसपाली बिसीलाई आमाले साथ दिइन्। दाजुले त आमाछोरीलाई नै घरबाट निकाल्न पो लागे ।
‘अनि मैले अंशदाबी गरेँ,’ उनले भनिन्। उनले संघसंस्थाहरूमा काम गर्दा पैतृक सम्पत्तिमा छोरीको बराबर हक लाग्छ भन्ने थाहा पाएकी थिइन्।
‘त्यो दिन त रिसको झोकमा दाइले लैजा तेरो अंश भनेका थिए,’ उनी सम्झिन्छिन्, ‘त्यसपछिका तीनचार दिन परिवारमा कुनै कुरै उठेन। मैले दाइलाई मेरो अंश दिनुपर्यो भनेँ।’
त्यो दिन भने दाइले उलाई अंश लिएर देखाउन चुनौति पो दिए। त्यसपछि उनले अंशबण्डा गराइदिन समाज बोलाउने निधो गरिन्। गाउँका मुखिया,बुद्धिजिवी,राजनितिकर्मीलाई सहयोग मागिन्। तर सबैले छोरीमान्छेलाई अंश दिने हाम्रो चलन छैन भन्दै उल्टो बीसीलाई नै सम्झाउन खोजे। त्यसपछि उनी समस्या लिएर वडा अध्यक्ष कहाँ गइन् ।
अध्यक्षले उनलाई सहयोग गर्ने बताए। अध्यक्षकै सहयोगमा गाउँका अरु मान्छेलाई पनि उनले आफ्नो घरमा बोलाइन्। साँझ दारू खाएर नानाथरि आरोप लगाउने उनका दाइ घरमा एकदुई जना मान्छे आउँदा भने भाग्न थाले । एक साँझ दाइ आफुमाथी कुटपिटमै उत्रेपछि उनले पनि हात फर्काइन्। त्यसको भोलपल्ट भने दाइ अंश दिन तयार भए ।
सबै गाउँलेको उपस्थितिमा तिर्नुपर्ने ऋणदेखि भएको सम्पत्ति सबै भाग लाग्यो।
‘अंश लिएपछि मसँग गाउँका मान्छेहरुले बोल्नै छोडे। कतिले त दाइभाइको सम्पत्ति खोसेको भनेर कुराकाटे,’ उनले भनिन् ‘अंश लिएको दुई महिनासम्म म घरबाट बाहिर निस्कन सक्ने अवस्था थिएन। मैले कति समय त डिप्रेसमै गुर्जानु पर्यो।’
अहिले पनि कहिलेकसो गाउँलेहरुले दाइभाइको भाग खोसेकोभन्दै कुरा सुनाइरहन्छन्। तर विभिन्न संघ संस्थामा काम गरेको अनुभव अनि उनी सामाजिक काममा सहभागी भइरहने हुँदा सल्लाह सुझावका लागि पनि आइरहन्छन् ।
अंश पाएपछिका ५ वर्ष आफ्नै व्यवसाय गरेर बसेकी उनले केहि समयअघि व्यवसाय छोडेर केहि अर्को पेशा अंगाल्ने सुर कसेकी छिन्। उता आफ्नो भाग परेको जग्गामा अरुलाई नै खेती लाउन दिएकी छिन्। अहिले दाइसंग पनि उनको सम्बन्ध राम्रै छ,अब छिट्टै उक्त जग्गाको लालपुर्जा आफ्नै नाममा गर्ने योजना उनको छ।
छोरीले छोरासरह नै अंश पाउने कानुनी व्यवस्था भएपनि व्यवहारमा लागु हुन गाह्रो छ भन्ने यी केही प्रतिनिधि घटना हुन्। धेरै छोरीलाई त आफूहरू पैतृकसम्पत्तिको अंसियार हौँ भन्ने कुरै थाहा छैन। थाहा भएकाहरूले पनि सामाजिक लाञ्छनाको डरले दाबी गर्न सक्दैनन्।
कैलाली जिल्ला बार एसोसिएसनका अध्यक्ष इन्द्र प्रसाद लेखक छोरीले अंश दावी गरेका घटना नगन्य हुने बताउँछन्। कानुनव्यवसायीको रूपमा काम गर्न थालेको ३२ वर्षमा उनले धेरै अंश मुद्दा हेरेका छन्। अविवाहित छोरीले अंश पाउने व्यवस्था आएको २० वर्ष र विवाहीत छोरीले पनि अंश पाउने व्यवस्था आएको ८ वर्ष भयो तर उनले छोरीलाई अंश दिलाउने मुद्दा लडेका छैनन्।
‘छोरीले अंश पाउँ भनेर कानुनी प्रक्रियामा आएको घटना मैले अहिलेसम्म हेरेको छैन,’ उनले भने, ‘प्राय सबैलाई बिहे गरेर उतैको अंश लिइहाल्छौँ भन्ने हुन्छ। माइतबाट अंश लिने कानुनी व्यवस्था भएपनि त्यतातर्फ कुनै छोरीहरुले ध्यान नै दिँदैनन्।
‘बिहे नगरेरै बसेकी छोरीले पनि अन्तिम विकल्पमा मात्रै अंशमाथि दावी गर्छन्’ उनले थपे।
कैलाली जिल्ला अदालतकी इजलास अधिकृत बबिता पौडेल कानुनले छोरी वा महिलालाई पूर्णरुपमा अंसियारको हक दिएको बताउँछिन्। तर अंशमै हक दावी गर्ने अझ मुद्दा हाल्ने छोरीहरूको सङ्ख्या भने नगन्य नै रहेको उनको अनुभव छ।
‘छोरीले पनि पैतृक सम्पत्तिमा अंश पाउने कानुनी व्यवस्था छ भन्नेबारे ज्ञान नहुँदा पनि कतिपय छोरी वा महिलाहरूले दाबी नगरेका होलान्,’ उनले भनिन्।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय,धनगढीका संयोजक खडकराज जोशी अंश लिने विषयलाई सामाजिक,सांस्कृतिक मान्यतासंग जोड्ने गरेकाले पनि छोरीहरूले सजिलै अंश दाबी नगर्ने बताउँछन्।
‘अंशलाई समाजले काजक्रिया,अन्तिम संस्कारसँग पनि जोडेर हेर्ने गर्छ। काजक्रिया र आमाबावुको स्याहार गर्ने जिम्मेवारीबाट छोरीलाई अलग्याइएको छ। त्यसैले पनि छोरीहरू अंश दाबी गर्दैनन्,’ उनले भने।
काठमाडौंमा अध्यापन र वकालतमा कार्यरत प्राध्यापक डाक्टर वरिष्ठ अधिवक्ता शशी अधिकारीले महिलाको यो कानुनी हक भन्ने धेरैलाई थाहा नभएको र छोरीले अंश लिन खोज्ने बित्तिकै अंसियारहरुले अनेक जालसाज गर्न सुरू गर्ने प्रवृत्तिले पनि छोरीहरूले अंश नपाउने गरेको बताइन्।
‘छोरी वा महिलाको नाममा अंशवण्डा गर्ने प्रसंग आउनासाथ अंसिरयारहरूले अंश मार्नका लागि जालसाज गर्ने प्रवृत्ति छ,’ उनले भनिन्, ‘बुझेकै परिवारहरुले समेत यस्तो गर्ने गरेका मुद्दा धेरै आउँछन्। यो महिलाको कानुनी हक हो भन्ने मान्न समाज नै तयार नभएकाले पनि यस्तो भएको हो।’
५२७ महिलाका नाममा अंशवण्डा
भूमिसुधार तथा मालपोत कार्यालय धनगढीसंग गत आर्थिक वर्ष २०८०/८१ मा ५२७ महिला जग्गाधनी भएका छन्।
अंशवण्डाको माध्यमबाट जग्गाधनी भएका महिलामा पतिबाट अंश पाएका पत्नी र आमाबुवाबाट अंश पाएका छोरी दुवै पर्छन्। आमाबुवाको सम्पत्तिबाट अंश पाएका छोरीहरुको सङ्ख्या कति छ भन्ने तथ्याङ्क मालपोतले राखेको छैन।
यी मध्ये अधिकांश महिलाको नाममा जग्गा पास गर्दा राजश्वमा छुट पाइन्छ भन्ने उदेश्यले गर्नेहरू नै धेरै रहेको मालपोत कार्यालय धनगढीका मालपोत अधिकृत प्रेमसिंह दौल्याल बताउँछन्।
एक वर्षदेखि धनगढीमा कार्यरत रहेका दौल्याललाई छोरीहरुको नाममा मात्रै अंशवण्डा भएको कुनै केस आएको सम्झना छैन।
‘छोरीलाई अंशबण्डा गरेर बराबर गर्ने घटना नगन्य मात्रामा हुन्छन्। छोरीहरूले पनि बराबरी अंश पाएको रेकर्ड भएको भए थाहा हुन्थ्यो होला। मलाई त सम्झना छैन,’ उनले भने।