अत्तरियामा दुग्ध विकास संस्थानका लागि जग्गा खोज्न कार्यदल गठन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका अत्तरियामा दुग्ध विकास संस्थान (डिडिसी) का लागि जग्गा खोज्न कार्यदल गठन गरिएको छ ।

२०६७ मा स्थापना भएका दुग्ध विकास संस्थान ठाउँ अभावका कारण धनगढी सार्ने तयारी गरिएपछि गोदावरी भित्रै जग्गा खोज्न गोदावरी नगरपालिका–१ का वडाध्यक्ष एवम् नगरपालिकाका प्रवक्ता गोपाल दत्त भट्टको अध्यक्षतामा कार्यदल गठन गरिएको हो ।

समितिमा लोकराज पाण्डे (आगो), नन्दलाल भट्ट, भीमबहादुर विक, सेर बहादुर विष्ट, मान बहादुर बलायर, तारा देवी महरा, बाबुराम बलमपाकी, शिवराज जोशी, डिल्लीराज जोशी, नैन सिंह कार्की, वसन्त रोकाया (ललित), शर्मानन्द भट्ट, राजु देवी विक, पार्वती धामी रहेका छन् ।

प्रवक्ता भट्टले हाल डीडीसी रहेको क्षेत्रमै जग्गा उपलब्ध गराउनको लागि कार्यदलले काम गर्ने बताए । उनले डीडीसी सँगै जोडिएको चाहना महिला सामुदायिक वनको सेरोफेरोमा जग्गा उपलब्ध गराउन समितिले काम गर्ने बताए ।

उनले डीडीसीलाई जग्गा उपलब्ध गराउनको लागि यसअघि पनि प्रक्रिया अगाडि बढेर फाइल तयार भएकाले सोही फाइललाई फलोअप गरेर अगाडि बढ्नेमा जोड दिए ।

कार्यालय धनगढीमा सार्ने तयारी गरिएपछि मंगलबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टको अध्यक्षतामा सरोकारवालाहरूको बैठक बसेको थियो ।