अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १२ की कौशीला कडायत पौषको पहिलो हप्तादेखि शैलुन (कपाल काट्ने) तालिम लिइरहेकी छिन् । तालिमका लागि विभिन्न विद्यालयदेखि सार्वजनिक स्थानहरु उनका सिक्ने थलो हुन् ।
उनी जस्तै गोदावरीकै कृष्णा भण्डारी,बिस्ना कार्की र बिनु चौधरी पनि सोहि तालिमका प्रशिक्षार्थी हुन् । अघिल्लो दिन अत्तरियाकै एक विद्यालयका विद्यार्थीहरुका कपाल काटेका उनीहरु मंगलबार दिउँसो अत्तरिया चौराहको प्रतिभा सामुदायिक पुस्तकालयको पछाडीतिर दुई जनाका कपाल काटीरहेका थिए ।
महिलाले कपाल काटेको देखेर होला वरीपरी हेर्ने मानिसको पनि घुँइचो थियो । सुरुका केहि दिन कौशीला र उनका साथीहरुलाई कपाल काट्ने मानिस खोज्दै जानुपर्दा अप्ठ्यारो लागेको थियो । अचेल त कपाल काट्ने मान्छे पाए कैँचि चलाउन राम्ररी सिकिन्थ्यो भन्ने लाग्छ । तालिम दिने गैर सरकारी संस्था मुक्त कमैया विकास मञ्चले सहकार्य गरेका ठाउँमा आफ्ना प्रशिक्षार्थीहरुलाई लिएर जान्छ ।
महिलाहरु परम्परागत काममा मात्रै सिमित हुन पुगेकाले आफुहरुले गैर परम्परागत क्षेत्रमा पनि महिलाहरुको व्यवसायीक सहभागिता समान हुनुपर्छ भन्ने उदेश्यले आयोजना लागू गरेको मुक्त कमैया विकास मञ्चका उद्यम विकास अधिकृत सन्तोष पराजुली बताउँछन् । “महिलाले गर्ने सिमित कामहरु छन्,घरधन्दा,कृषि,ब्युटिसियन,सिलाई कटाई जस्ता परम्परागत कामहरु मात्रै महिलाहरुले गर्ने गरेका छन्,केहि कामहरु,व्यवसायहरु यस्ता छन् जुन पुरुषले मात्रै गर्नुपर्छ भन्ने मान्यता छ ।
त्यसैले हामीले त्यो सोचलाई चिर्नका लागि गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता भनेर परियोजना सुरु गरेका हौँ ।” उनले भने । प्रशिक्षार्थी कडायतले तालिम सकिएपछि सैलुन खोलेर बस्ने आफ्नो योजना रहेको बताइन् । अर्की प्रशिक्षार्थी कृृष्णा विष्टले पनि तालिम सकिएपछि सैलुन सञ्चालन गर्ने घर परिवारमा सल्लाह गरेर नै आफु कपाल काट्ने तालिम सिक्न आएको बताउँदै सकिएपछि स्वरोजगार बन्ने लक्ष्य राखेको बताइन् ।
हामीहरुले कपाल काटीरहेको देख्दा “केटीहरुले पनि कपाल काट्छन्रुकेटीहरुलाई पनि कपाल काट्न आउँछरु”भन्दै प्रश्न गर्नेहरु धेरै भेटिने गरेको विष्टले बताइन् । पर्शुराम रानाले उनीहरुलाई प्रशिक्षण दिइरहेका छन् । उद्यम विकास अधिकृत पराजुलीले आफुहरुले ६० जना जति प्रशक्षार्थी खोजेपनि नपाइएको बताए ।
“२०२४ को लागि गैर परम्परागत क्षेत्रमा ६० जना प्रशिक्षार्थी खोजेका थियौँ तर मुस्किलले १० जना पायौँ” उनले भने । तालिम लिने मात्रै भेटिने तर तालिमपछिको सुनिश्चता खोज्दा भने मान्छे पछाडि हट्ने प्रवृति रहेको उनको भनाई छ । मञ्चले गैर परम्परागत क्षेत्रमा महिला उद्यमशीलता अन्तरगत सैलुन (दुई महिने) र सवारीचालक (एक महिने) तालिम प्रदान गरिरहेको छ ।