काठमाडौं – पश्चिमी न्यूनचापीय प्रणालीका कारण नेपालमा आज र भोलि वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणाली नेपाल प्रवेश गर्दा वर्षा र हिमपातको सम्भावना रहेको हो ।
आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा हिमपात र वर्षा हुनेछ । हाल नेपालमा पश्चिमी वायुको साथै पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव छ ।
मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज बिहान सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । तराईका केही स्थानहरूमा हुस्सु लागेको छ ।
दिउँसो र राति सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।
गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमबाट पूर्वतर्फ सर्दै जाँदा भोलि भने काठमाडौंमा वर्षाको सम्भावना छ ।
उनका अनुसार बुधबारबाट मौसम क्रमिक रूपमा सफा हुँदै जानेछ । पश्चिमी न्यूनचापीय प्रणाली कमजोर हुँदै गएपछि मौसम सफा हुने उनको भनाइ छ ।
बादल, वर्षा, हिमपात तथा हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।