तराईमा आज पनि हुस्सु र कुहिरो उस्तै

Image

काठमाडौं – तराईका अधिकांश भू–भागमा आज हुस्सु र कुहिरो लागेको छ । बुधबारको जस्तै आज पनि पूर्वी तराईदेखि पश्चिम तराईसम्मका अधिकांश भू–भागका बाक्लो हुस्सु र कुहिरो लागिरहेको छ ।

यसले सडक तथा हवाई यातायात सेवा प्रभावित हुने सम्भावना रहेको जल तथा मौमस विज्ञान विभागले जनाएको छ ।

विराटनगरमा सबैभन्दा धेरै हुस्सु र कुहिरो लागेको छ । मौसमविद् शान्ति कँडेलका अनुसार विराटनगरका बिहान आठ सय मिटर भिजिविलिटी छ ।

“धनगढीमा १२ सय मिटर, भैरहवामा दुई हजार मिटर भिजिविलिटी छ,” मौसमविद् कँडेलले भनिन् ।

दुई हजार मिटरभन्दा कम भिजिविलिटी भएका ठाउँमा हवाई सेवा प्रभावित हुने उनको भनाइ छ । दुई हजार मिटरभन्दा कम भिजिविलिटीमा विमान उडान तथा अवतरण हुन सक्दैनन् ।

काठमाडौंमा आज बिहानको भिजिविलिटी ६ किलोमिटर छ । सूर्य उदाएपछि हुस्सु र कुहिरो केही कम हुने उनको भनाइ छ ।

“भोलिबाट हुस्सु र कुहिरो केही कम हुने सम्भावना छ,” मौसमविद् कँडेल भन्छिन्, “आजभन्दा भोलिबाट केही खुल्ने देखिन्छ ।”

न्यून भिजिविलिटी हुँदा बुधबार देशका केही स्थानमा हवाईसँगै सडक यातायात समेत प्रभावित भएको थियो । बुधबार तराईका धैरै स्थानमा एक हजार मिटरभन्दा कम भिजिविलिटी रहेको थियो । जसका कारण सडक पानीले चिसो हुँदा गाडी चिप्लिने भएकाले सवारी चल्न सकेका थिएनन् ।

एक हजारभन्दा कम भिजिविलिटी भए कुहिरो र एक हजारदेखि माथि पाँच हजारसम्म फग भए त्यसलाई हुस्सु भन्ने गरिएको छ ।